काठमाण्डौ । पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । 

हराइरहेको विमान मुस्ताङको मानापाथी हिमालको फेदीस्थित थासाङ गाउँ पालिका वडानम्बर २ न्याउरीकोट डाँडा नजिकैको सानोस्वारे क्षेत्रको ल्याङ्जे खोलाको मुहानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङकाअनुसार हालसम्म सो बिमानका यात्रु तथा चालकदलका कोही पनि जिवित फेला परेका छैनन् । 

हिजो पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको १५ मिनेटपछि तारा एयरको विमान हराएको थियो । हिजो दिनभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले हराएको विमानको खोजी गरेका थिए । दुर्घटनास्थल आसपास बाक्लो कुहिरो लागेको र हल्का वर्षा समेत भएकोले हिजो खोजी कार्य प्रभावित भएको थियो । साँझसम्म नेपाली सेनाले दुर्घटनास्थल पत्ता लगाए पनि त्यहाँ जान सकेको थिएन । 

आजै विहानैबाट सेनाको हेलिकोप्टरले खोजी कार्यलाई जारी राखेकोमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । 

विमानमा दुई जर्मनी नागरिक, चार भारतीय नागरीक, १३ नेपाली नागरिक र तीन चालकदल सहित २२ जना रहेका थिए ।