काठमाण्डौ । तिहार बिदाअघिको अन्तिम कारोबार दिन आइतबारमा सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज १४.३५ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८५८.४९ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.८८ अंकले बढेर ३६५.९३ को विन्दुमा उक्लिएको छ। कारोबार रकम ५५ करोड रुपैयाँ बढीको भएको छ। 

बजार जानकार प्रकार रजौरे बजारमा अझै आश गर्ने ठाउँ रहेको बताउँछन्। ‘विस्तारै निक्षेप बढ्दै गएको छ, यसले तरलता सहज हुँदै गएको बुझिन्छ’, उनले भने, ‘चुनावमा लुकेको पैसा पनि बाहिर आउन सक्छ। पैसा सहज भएमा बजार बढ्न सक्छ।’

यसअघिका राष्ट्र बैंकका नीतिहरुले बजार प्रभावित भइरहेको रजौरेको भनाइ छ। ‘ओभरड्राफ्टमा कडाइ गर्यो, चालुपुँजी कर्जामा कडाइ गर्यो’, उनले भने, ‘यस्ता नीतिले बजारमा असर पर्यो तर बजार अझै आशा गर्ने ठाउँ धेरै छन्।’

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी दिपावलीको समयमा भारतमा पनि सेयर बजार बढेको हुँदा नेपाल पनि आज बजार बढेको हुन सक्ने बताउँछिन्। ‘अहिले नै बजार कता जाला भन्ने विषयमा आँकलन गर्न गाह्रो छ’, उनले भनिन्, ‘तर, तिहार र चुनावपछि तरलताको अवस्था हेरेरमात्रै बजारको दिशाका बारेमा भन्न सकिन्छ।’

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। 

आज निर्जीवन बीमा समूह सर्वाधिक १.२२ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह १.०२ प्रतिशतले बढ्दा जलविद्युत समूहमा १ प्रतिशत, बैंकिङ समूहमा ०.८४ प्रतिशत, व्यापार समूहमा ०.२५ प्रतिशत, वित्त समूहमा ०.३३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२२ प्रतिशत, अन्य समूहमा ०.९२ प्रतिशत, लघुवित्त समूहमा ०.७१ प्रतिशत, जीवन बीमा समूहमा ०.४५ प्रतिशत र लगानी समूहमा ०.७५ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ०.७७ प्रतिशतले ओरालो लागेको छ। म्युचुअल फन्ड समूहमा पनि ०.२८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २२१ कम्पनीका १५ लाख ३८ हजार ४२ कित्ता सेयर ५१ करोड ६८ लाख ३ हजार ४८४ रुपैयाँमा किनबेच भएका छन्। 

आज एभरेस्ट बैंकको सर्वाधिक ५ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३ करोड ३८ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन नेपाल बैंकको ३ करोड २० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको संस्थापक सेयरको २ करोड २९ लाख रुपैयाँ, गरिमा विकास बैंकको १ करोड ५१ लाख रुपैयाँ, प्रभु बैंकको १ करोड ४९ लाख रुपैयाँ, रिडी पावरको १ करोड ४४ लाख रुपैयाँ, नेपाल टेलिकमको १ करोड ४० लाख रुपैयाँ, अभियान लघुवित्तको १ करोड ३१ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन रुरु जलविद्युत र सयपत्री हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

आज अभियान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।