काठमाण्डौ । तिहारअघिको अन्तिम कारोबारमा सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज ११.८५ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८५२.०८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.३६ अंकले घटेर ३५७.०४ को विन्दुमा आर्लेको छ। कारोबार रकम ८३ करोड रुपैयाँको मात्रै भएको छ। 

बजार जानकार केशव कोइराला (काका) लगानीकर्तामा विश्वासको वातावरण नबनेसम्म बजार बढ्न नसक्ने बताउँछन्। ‘धितोपत्र बोर्डले सप्लाई रोक्ने काम गर्नुपर्छ’, उनले भने, ‘म्युचुअल फन्डलाई आईपीओ बिक्रीमा लगाइएको समयसीमाले अर्थ राख्छ तर सप्लाई रोक्न पर्याप्त छैन।’

अब बुक बिल्डिङ विधिबाट मात्रै आईपीओ ल्याउन दिनुपर्ने कोइरालाको भनाइ छ। ‘अन्यथा बजार यस्तै रहन्छ’, उनले भने, ‘किनकि धितोपत्र बोर्डको पाइपलाइनमा अझै थुप्रै आईपीओ रहेको छ।’

अर्का बजार जानकार निमानन्द कँडेल बजार घट्नुले लगानीकर्ताको मनोबल अझै बढ्न नसकेको प्रस्ट हुने बताउँछन्। ‘लगानीकर्ता ब्याजदरको विषय र मौद्रिक समीक्षा कुरेर बस्दा पनि कारोबार र सूचक घटेको हो’, उनले भने, ‘अब ब्याजदर घटेमा र मौद्रिक समीक्षामा नीतिगत परिमार्जन भएको खण्डमा बजार बढ्न सक्छ।’

लगानीकर्ताहरुले नयाँ लोन लिएर थप लगानी नचाहिरहेको कँडेल बताउँछन्। ‘पहिले पैसा फसेको छ’, उनले भने, ‘थप पैसा बजारमा लगाउँदा झनै फस्ने डर लगानीकर्तामा देखिन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन अन्य समूह सर्वाधिक १.५५ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह १.३१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.२१ प्रतिशत, विकास बैंक समूहमा ०.४३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७७ प्रतिशत, जलविद्युत समूहमा ०.८४ प्रतिशत, लगानी समूहमा ०.६३ प्रतिशत, जीवन बीमा समूहमा १.०३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२५ प्रतिशत, लघुवित्त समूहमा ०.८३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४१ प्रतिशत र व्यापार समूहमा ०.१४ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८२ कम्पनीका २८ लाख ३३ हजार ७३१ कित्ता सेयर ८३ करोड ६० लाख ५ हजार ६५६ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन सोनापुर मिनरल्सको सर्वाधिक ७ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको ३ करोड ८१ लाख रुपैयाँबराबरको कारोबार भएको आज हाथवे इन्भेस्टमेन्टको ३ करोड ६४ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको २ करोड ३० लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सको १ करोड ९३ लाख रुपैयाँ, साल्ट ट्रेडिङको १ करोड ८५ लाख रुपैयाँ, सिटिजन लाइफको १ करोड ६९ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ६२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको १ करोड ५४ लाख रुपैयाँ र नेपाल टेलिकमको १ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज सयपत्री हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।

यो दिन माउन्टेन इनर्जीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।