काठमाण्डौ ।यमपञ्चक अर्थात् तिहारको चौथो दिन मंगलबार गोवर्द्धन पूजा गरिदैछ ।

यो दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन घर आँगन लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ ।द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।

यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार वा अपभ्रंश भई हल तिहार पनि भनिन्छ ।
नेपाल संवत् ११४४ सुरू
आजदेखि नेपाल संवत् ११४४ सुरु भएको छ । या संवतलाई सरकारले सरकारी कागजातमा पनि उल्लेख गर्ने भएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । ।

नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।