काठमाण्डौ । झिलिमिली बत्तीको पर्व रुपमा लिइने तिहार आउन अब चार दिनमात्रै बाँकी रहेको बेला नेपाल विद्युत् प्राधिकरण यो पर्वका लागि विद्युत् आपूर्ति व्यवस्थापनमा लागिपरेको छ ।

विगतका वर्षमा नेपालीले लोडसेडिङका कारण अँध्यारोमा तिहार मनाएको तीतो अनुभव सँगालेका छन् । तर केही वर्षयता नेपालीले उज्यालोमै तिहार मनाउन पाउँदै आएका छन् । यसपालिको तिहारमा पनि प्राधिकरणले विद्युत् आपूर्ति सहज हुने र बीचबीचमा विद्युत् अवरुद्ध नहुने प्रतिबद्धता जनाएको छ ।

सामान्यतया विद्युत्को माग बढी हुने तिहारमा विशेषगरी लक्ष्मी पूजाको दिनदेखि विद्युत्को खपत उच्च हुने गरेको छ । यस्तोमा प्राधिकरणका अधिकारीहरुले विद्युत् आपूर्ति सहज र बिना अवरोध निरन्तर प्रदान गर्न आवश्यक गृहकार्यमा जुटेको बताएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रायः तिहारमा विद्युत् आपूर्ति व्यवस्थापन गर्नु एकदमै चुनौती विषय रहेको बताएका छन् । उनले यो वर्ष आमजनताले चिन्ता लिनु नपर्ने बताए।

प्राधिकरणको वर्तमान क्षमताअनुसार हाल १ हजार मेगावाट विद्युत्को माग धानिरहेको छ तर तिहारको समयमा विद्युत्को माग १३ सय मेगावाटसम्म पुग्ने गरेको छ । विद्युत्को माग र आपूर्तिबीचको खाडल कम गर्न प्रधिकरणले थप दुई सय मेगावाट विद्युत् भारतबाट आयात गर्ने तयारीसमेत गरिरहेको प्राधिकरण स्रोत बताउँछ ।

प्राधिकरणका अनुसार गत वर्षको तिहारमा विद्युत्को माग १२५० मेगावाट थियो भने त्यसको अघिल्लो वर्ष १३५० मेगावाट थियो । प्रायः उद्योगहरु तिहारको बेला बन्द रहने र विद्युत्को ठूलो हिस्सा घरायसी प्रायोजनका लागि खपत हुने भएकाले प्राधिकरण आन्तरिक उत्पादनबाट मागलाई सम्बोधन र व्यवस्थापन गर्न लागिपरेको बताइएको छ ।

कार्यकारी प्रमुख घिसिङले आफू स्वयं पनि तिहारमा विद्युत् आपूर्ति सहज बनाउन खटिने बताएका छन् । यसका साथै प्राधिकरणका विभिन्न सबस्टेसनका अधिकारी तथा कर्मचारीहरु सम्भावित विद्युत् आपूर्ति अवरोधलाई सम्बोधन गर्न सर्तक र सजक अवस्थामा रहने उनले जानकारी दिए ।