– रेखा चन्द

काठमाण्डौ । मुुलुुकमा महँगी दिन प्रतिदिन बढ्दो छ। शोधानान्तर घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, घट्दो रेमिट्यान्स, बढ्दो आयातलगायतले सम्रग अर्थतन्त्र तथा बाह्य क्षेत्र दबाब परेको लामो समय भइसकेको छ। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९–८० को भदौसम्म आउँदा भने अर्थतन्त्रका सूूचकमा केही सुधार भए पनि दबाब भने कायमै रहेको जनाएको छ। बैंकको बढ्दो ब्याजदरका कारण पनि आमसर्वसाधारणदेखि ठूलठूला उद्योगी–व्यापारी मारमा परेका छन्। बढ्दो महँगीले सामान्य मानिसलाई असहज हुने भएको छ भने आयआर्जन गर्ने मानिसले पनि खर्चलाई कटौती गरी कम खर्च गर्नेछन्। 

यतिबेला देशभर तिहारको चहलपहल बढेको छ। तिहार सुुुरु भइसकेको छ। देशका मुुख्य व्यापारी केन्द्रदेखि सामान्य पसलसम्ममा किनमेल गर्नेहरुको भिड बढेको छ। 

काठमाण्डौको मुख्य व्यापारिक केन्द्र न्युरोड, महाबौद्ध, भोटेबहाल, इन्द्रचोकलगायतका क्षेत्रमा किनमेल गर्नेको घुुइँचो लागेको छ। तिहारमा मिठाई, भाइमसला, फूलका माला, लत्ताकपडा, भाँडाकुुँडा, विद्युुत्तीय सामग्री (झिलिमिली बत्ती)को किनमेल बढ्ने गर्दछ। तर, यी सबैखाले सामग्रीको भाउ बढेको छ। 

न्युरोडलगायतका अधिकांश व्यापारीहरु महँगी बढेकाले पनि व्यापार घटेको तर्क गर्दछन्। 

पोहोर–परारको तिहारमा भएको जस्तो व्यापार नभएको असनकी एक व्यापारी बताउँछिन्। अरु बेला मखमलका चप्पलको मात्रै व्यापार गरेर जीविकोपार्जन गर्दै आएकी उनले तिहारलाई लक्षित गर्दै ढाकाटोपी पनि पसलमा थपेकी छिन्। ‘विगतमा जस्तो व्यापार भएको छैन। मलाई यस वर्ष मानिसहरु पनि किनमेलका लागि कम आएका हुन् कि जस्तो लाग्छ’, ती व्यापारीले भनिन्, ‘मान्छे कम भएपछि व्यापार पनि कम भएको जस्तो लाग्छ। पोहोर–परार सडकमा मान्छे हिँड्ने ठाउँ हुँदैन थियो तर हिजोआज त्यस्तो छैन।’

असन चोकमा भाँडाकुँडाको व्यापार गर्दै आएका शम्भुु माझी पनि सोचेअनुरुपका व्यापार नभएको तर्क गर्छन्। ‘सोचेको जस्तो भाँडाकुँडाको किनबेच त पक्कै पनि भएको छैन तर पनि अलि अलि भइरहेकै छ भन्नुपर्छ।’

पहिलेको तुुलनामा विद्युुत्तीय सामग्रीको व्यापारका ह्रास आएको महाबौद्धमा एक व्यवसायी बताउँछन्। ‘पहिला–पहिला अलि बढी नै व्यापार हुन्थ्यो तर अहिले मानिस सुुस्त बनेको छ’, उनले भने, ‘त्यसैले पनि सोचेजस्तो व्यापार छैन।’

विगतदेखि नै काजु, किसमिस, ओखर, नरिवल, छोकडा, किसमिस, बदामलगायतका वस्तु बिक्री गर्दै आएकी सुुनिता दुुलाल भने फरक मत राख्छिन्। उनी व्यापार नघटेको बताउँछिन्। ‘जस्तो पोहोर–परार थियो, यसपालि पनि त्यस्तै हो’, उनले भनिन्। 

यता इन्द्रचोकनजिक ढाका टोपीको व्यवसाय गर्दै आएकी मुुना काफ्ले पनि व्यापार नघटेको तर्क गर्छिन्। 

यता यस वर्ष काठमाण्डौ महानगरपालिकाले न्युरोड क्षेत्रलाई बढी निगरानीमा राखेको छ। अवैध संरचना भत्काउने अभियानमा रहेको महानगरले आज पसलमा सजावटका लागि बनाएको गेटसहित सजावट सामग्री नियन्त्रणमा लिएको छ। 

महानगरले निषेधित क्षेत्रमा पार्किङ गरिएका सवारीसाधनलाई पनि नियन्त्रणमा लिने कार्यलाई तीव्र बनाएको छ।