काठमाण्डौ । नजिकिँदो तिहार र छठ पर्वमा प्लास्टिक जन्य फूलगुच्छा र माल बिक्रीवितरण गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ। 

वन तथा वातावरण मन्त्रालयले आज एक सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलगुच्छा तथा माल बिक्रीवितरण गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना लगाइने चेतावनी दिएको छ।

गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि लागू हुने गरी प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले सूचनामा स्पष्ट पारेको छ। 

तिहार र छठजस्ता चाडपर्वमा त्यस्ता प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र विभागबाट १ लाख रुपैयाँसम्मको जरिवाना हुनेसमेत सूचनामा उल्लेख छ।