काठमाण्डौ । तिहार र छठ पर्वको बिदापछि खुलेको सेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। 

आज बजार १६.३९ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १८७४.८७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.९३ अंकले बढेर ३७०.८६ को विन्दुमा पुगेको छ। कारोबार रकम साढे ६९ करोड रुपैयाँ बढी भएको छ। 

बजार जानकार वीरेन्द्र बिष्ट आजको बढाइले बजार घट्ने क्रम रोकिएको मान्न सकिने बताउँछन्। ‘केही बैंकहरुको पहिलो त्रैमासको रिपोर्ट राम्रो आएकोले पनि बजार बढ्नमा सपोर्ट भएको छ’, उनले भने। 

पुस–माघदेखि बैंकको ब्याजदर पनि घट्दै जाने बिष्टको भनाइ छ। ‘चरम संकटको अवस्था सकिएको छ’, उनले भने। 

बजार लगभग १८०० तिरै न्यून विन्दु बनाएकोले अब माथि नै जाने सम्भावना प्रबल रहेको बिष्टको तर्क छ। 

सक्रिय लगानीकर्ता निमानन्द कँडेल पनि अब बजार विस्तारै माथि नै लाग्ने बताउँछन्। बैंक तथा वित्तीय संस्थाहरुको रिपोर्ट सन्तोषजनक आउनु, तरलता पनि सहज हुँदै जानु, लाभांशको सिजन पनि भएकोले र चुनावी महौल पनि सुरु भइसकेकोले बजार अब माथि नै जाने उनको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.६५ प्रतिशतले उकालो लागेको छ। अन्य समूह १.५९ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.५२ प्रतिशत, व्यापार समूहमा १.१४ प्रतिशत, जलविद्युत समूहमा ०.१ प्रतिशत, वित्त समूहमा ०.८४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६४ प्रतिशत, लघुवित्त समूहमा ०.३४ प्रतिशत, जीवन बीमा समूहमा ०.२९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७६ प्रतिशत र लगानी समूहमा ०.२३ प्रतिशतको बढोत्तरी भएको छ। 

आज विकास बैंक समूहमात्रै ०.३९ प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका २५ लाख ७४ हजार ९७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ६ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एभरेस्ट बैंकको ४ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ३ करोड ८० लाख रुपैयाँ, प्रभु बैंकको २ करोड ७६ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ६२ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १ करोड ५६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको १ करोड ५६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ४४ लाख रुपैयाँ, अरुण काबेली पावरको १ करोड ३८ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन सयपत्री हाइड्रोपावरका सेयरधनीहरु धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

आज अपर हेवाखोला हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले ओरालो लागेको छ।