– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । श्रीकृष्ण जन्माष्टमीदेखि चाडपर्वका सिजन सुरु भइसकेको छ। चाडपर्वले ढपक्कै ढाकेको अनुभूति हुन थालेको छ। 

आज नारीहरुको महान् पर्व हरितालिका तीज परेको छ। आज देशभर नारीहरु व्रत बसेर यो पर्व मनाइरहेका छन्। गाउँसहरमा तीजका गीत घन्किरहेका छन्। 

व्रत बस्दा शरीरले थेग्न सकोस् भने अघिल्लो दिनै व्रतालुहरु दर खाइसकेका छन्। पछिल्ला केही वर्षहरुदेखि दर खाने र खुवाउने प्रचलन पनि १५–२० दिनअगावैबाट सुरु हुने गरेको छ। महँगा गरगहना र लत्ताकपडा खरिद गर्ने चलन तीज भड्किलो बन्दै गएको छ।

पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भने भड्किलोभन्दा साधारण तीज मनाउन सुझाव दिन्छिन्। संस्कृतिको नाममा रुढिवादी पनि हुन नहुने उनको तर्क छ। 

आफू तीजकै दिन जन्मेको राधाले खुलासा गरिन्। ‘म तीजकै दिन जन्मेको हुँ’, उनले भनिन्, ‘आमा तीजको व्रत बस्नुभएको थियो।’

आफूले बुझ्ने भएदेखि नै तीजका दिन व्रत बस्दै आएको राधाले बताइन्। ‘सानोमा आमाहरु व्रत बस्दा म पनि व्रत बस्थेँ, अहिले जान्ने–बुझ्ने भएपछि पनि तीजमा व्रत बस्दै आएको छु’, उनले भनिन्, ‘यसपालि पनि व्रत बस्छु।’ 

प्रायः तीजका बेला विवाहिता महिलाहरु पति र परिवारको स्वास्थ्य लाभ तथा दीर्घायूको कामना गर्दै व्रत बस्छन्। अविवाहिताहरु भने असल वर पाउँ भन्दै व्रत बस्ने गरेको सुनिन्छ। राधा भने असल व पाउनैका लागि व्रत बस्ने कुरामा समर्थन गर्दिनन्। उनी भन्छिन्, ‘आफू सक्षम भए सबै राम्रो हुन्छ।’

व्रत बसेरमात्रै धर्म नहुने राधाको तर्क छ। ‘भोकै बसेर धर्म हुने भए सोमालियामा धेरै धर्म हुने थियो’, उनले भनिन्। 

अहिले तीजको नाममा हुने आधुनिकता आफूलाई त्यति मन नपर्ने राधा बताउँछिन्। ‘बाध्य भएर कतिपय कार्यक्रममा जानैपर्ने हुन्छ’, उनले भनिन्। 

काठमाण्डौकी स्थायी बासिन्दा राधाले सबै महिला दिदी–बहिनी तथा लगानीकर्तालाई तीजको शुभकामना पनि दिइन्। 

राधा विगत एक दशकदेखि पुँजीबजारमा सक्रिय छिन्। उनी नेतृत्वको लगानीकर्ता संगठन हाल ७३ जिल्लामा विस्तार भइसकेको छ। 
आफू १६ वर्षकै उमेरदेखि प्रथामिक बजारबाट सेयर बजारमा प्रवेश गरेको राधा सुनाउँछिन्। ‘अहिलेको पुँजीबजार मैले सोचेभन्दा बढी विकास भएको छ’, उनले भनिन्, ‘पछिल्लो समयमा पुँजीबजार केन्द्रदेखि तल्लो तहसम्म पुगेको छ।’

लगानीकर्तालाई सुझाव दिँदै राधा सेयर बजारमा सबै पैसा एकैपटक लगानी गर्न नहुने बताउँछिन्। ‘सेयर बजारमा आउनुअघि अध्ययन गर्न अतिआवश्यक छ’, उनले भनिन्, ‘किनकि सेयर बजारमा जोखिम धेरै हुन्छ। डर र लोभलाई नियन्त्रण गर्न सक्नुपर्छ।’

काठमाण्डौबाट आगामी संसदीय चुनावमा उठ्ने सोचमा पनि राधा छिन्।