काठमाण्डौ । सरकारले २ नम्बर प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशलाई पूर्ण रुपमा अँध्यारोमुक्त बनाइने घोषणा गरेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । 

उनले सबै प्रदेशमा कम्तीमा २ ठूला जनविद्युत तथा सौर्य आयोजनाको विकास गरी सबै नेपालीको घरमा आधुनिक उर्जाको पहुँच विस्तार गरिने बताएका हुन् । 

उज्यालो नेपाल बनाउने गरी जलविद्युत र नविकरणीय उर्जाको विकास तथा विस्तार गरिने घोषणा गर्दै उनले जलविद्युत, सौर्य र वायू लगायतका नविकरणीय प्रयोगबाट उर्जाको पहुँच कम भएका प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिम प्रदेशलाई सर्वप्रथम पूर्णरुपमा अध्याँरोमुक्त प्रदेश बनाइने घोषणा गरे । 

यस्तै, अपर तामाकोशीबाट विद्युत उत्पादन गरी १ हजार मेगावाट आगामी वर्षसम्म राष्ट्रिय प्रसारण लाइनमा जोडिने समेत अर्थमन्त्रीले घोषणा गरेका छन् । 

सरकारले  १८ आयोजनाबाट ३५ सय मेगावाट बिद्युत उत्पादन गर्ने घोषणा गरेको छ । 

बजेटमा बुढीगण्डकी जलविद्युत आयोजनालाई मात्रै १३ अर्ब ५७ करोड रुपैयाँ बिनियोजन गरिएको छ।

यस्तै, माथिल्लो अरुण, तल्लो अरुण, किमाथांका, नलसिंह गाडलगायत १८ आयोजनाबाट ३५ सय मेगावाट विद्युत उत्पादन गर्ने अभियान अघि बढाइनेछ ।

तमोर जलविद्युत आयोजनालाई राष्ट्रिय गौरबको आयोजनाका रुपमा अघि बढाउने पनि अर्थमन्त्रीले घोषणा गरेका छन्।

उर्जा क्षेत्रका लागि सरकारले ८३ अर्ब ४९ करोड बिनियोजन गरेको छ।