काठमाण्डौ । जगत जननीको खास दिन हो आमाको मुख हेर्ने दिन, अर्थात हिन्दूहरुले यसलाई माता तीर्थ औंशी पनि भन्छन् । यो विशेष दिनमा आमा भएकाहरुले आफ्नी आमालाई उपहार दिने, मीठो मीठो खुवाउने, अन्य बेला भन्दा बढी समय दिने गर्छन् भने आमा नभएकाहरु दिवंगत आमालाई सम्झिएर भाव विह्वल हुन्छन्, आमाका न्यानो र ममतामयी स्पर्शहरुको सम्झना गर्छन् । हामीले यहाँ आमा गुमाएका केही उद्योगी व्यवसायीको आमासँग जोडिएका मर्मस्पर्शी स्मृतिहरुलाई समेट्ने प्रयास गरेका छौं । 
 

फोटोलाई खुवाएर वृद्धाआश्रमको बास

भवानी राणा, वरिष्ठ उपाध्यक्ष–नेपाल उद्योग वाणिज्य महासंघ


ममतामयी आमाले साथ छाडेको  २ वर्ष भए पनि भवानी राणालाई आमा जिवितै छिन् भन्ने लाग्छ । श्वासप्रश्वासमा समस्या देखिएपछि निकै बिरामी उनकी आमा शोभा मिश्रको ७६ वर्षको उमेरमा २ वर्षअघि निधन भएको थियो । मिश्रका दुई छोरीहरु मात्र छन्, आमाको साथ छुटेपछि दुवै छोरीहरुलाई यो तीतो सत्य पचाउन कयौं महिनासम्म गाह्रो भयो । ‘हरेक वर्षको आमाको मुख हेर्ने दिन मेरा लागि विशेष हुन्थ्यो, आमाको मुख हेर्ने, आमालाई मन पर्ने उपहार दिने र मीठो मीठो खुवाउने भनेर कयौं दिनदेखि योजना बुन्थेँ ।’ विगत सम्झदै भवानीले बिजशालासँग भनिन्–‘तर यी सबै कुरा विगत भइसके, आमा बित्नुभयो भन्ने कुरा कहिलेकाही आफैलाई पत्यार लाग्दैन ।’ 

उनी आमा जिवित हुँदा मुलुक वा विदेशका जुनसुकै भागमा पुगे पनि आमाको मुख हेर्ने दिन सबै कार्यक्रम रद्ध गरेर भए पनि आमा भएको ठाउँमा आइपुग्थिन् । ‘तर यो पटक निकै नराम्रो फिल गरँे, मेरी आमा, मेरी जगत जननीलाई औधी मिस गरेँ ।’ राणाले भनिन्–‘आमा हुनुहुन्थ्यो भने यो पटकको औंशी पनि कति रमाइलो हुन्थ्यो होला ।’

आमा बितेपछि आएको माता तीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन उनले आमाको फोटोलाई पूजा गर्छिन । शुक्रबार पनि त्यसै गरिन् । ‘आमा जिवितै हुनुहुन्छ भन्ने ठानेर आमाको फोटोलाई उहाँ जिवित हुँदा मनपर्ने खानेकुरा खुवाइदिएँ ।’ पीडामिश्रित स्वरमा उनले थपिन्–‘आमाले खाएको महसुस गरेँ, मन केही भए पनि शान्त भयो ।’ 

उनका अनुसार आमा बितेको वर्षपछिका दिनमा झै यसपटक पनि उनी बौद्धस्थित वृद्धाआश्रममा पुगिन् र त्यहाँका जेष्ठ नागरिकहरुलाई मिष्ठान्न भोजन गराइन् । आश्रमका आमाहरुको मुहारमा खुशी छाएको देख्दा आफ्नै आमाको खुशी छचल्किएको अनुभूत हुने राणा बताउँछिन् । 

राणाले आफ्ना बुबाको स्वर्गबास भएको २ महिनामै संसार देखाउने आमा गुमाउनु परेको थियो । दुःखका थाकहरु बोकेर संघर्षको यात्रामा अगाडि बढिरहँदा आमाकै प्रेरणा र ममताले आफूलाई आजको अवस्थामा पुर्याएको राणाको भनाई छ । ‘आमाको स्नेह भन्दा ठूलो अरु केही हुन्न ।’ उनले भनिन्–‘मेरा लागि आमाको स्नेह स्वर्गीय छ, आमाले माया गरेर सुमसुम्याउनु भएको क्षण सम्झदै पनि म रमाउँछ ।’ 

अझै आमासँगै लुटपुटिने मन, तर अधूरो

राजेशकाजी श्रेष्ठ,अध्यक्ष -नेपाल चेम्बर अफ कमर्स


६ वर्षअघि क्यान्सरबाट परलोक आफ्नी आमाको यादले अझै पनि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष समेत रहेका राजेशकाजी श्रेष्ठलाई सताइरहन्छ । ७५ वर्षको उमेरमा बितेकी आमासँग जिवित छँदा माता तीर्थ औंशीको दिन बिताएका क्षणहरुले आफूलाई झनै बढी सताउने गरेको उनी सम्झन्छन् । बिहीबार चीनतर्फको यात्रामा निस्किदै गर्दा बिजशालासँग कुरा गर्दै उनले आमा बितेपछिका वर्षहरुमा आमालाई सम्झिएर आमाको मुख हेर्ने दिन गरीब, दुखी र भोकालाई सहयोग गर्ने गरेको सुनाए । 

‘म आज चीनतर्फ लागे पनि मेरी श्रीमतीलाई मैले गरीब दुखीलाई दिनुपर्ने सहयोग र पुरेतलाई दिनुपर्ने दानदक्षिणा बुझाई त्यसमा ढोेगेर निस्किएको हुँ ।’ उनले भने–‘आमा बितेपछिका हरेक आमाको मुख हेर्ने दिन म हामीले मान्दै आएको बाजेलाई बेलाएर आमाको नाममा पितृ तर्पण दिन्छु । घरमा पितृ पाठ पनि लगाउने गरेको छु ।’ उनले जिवित छँदा आमालाई मन पर्ने उपहार दिन्थे, मीठो भोजन गराउथे । सो दिन आमासँग घण्टौ बिताउथे, केटाकेटी झै आमाको काखमा लुटपुटिन खोज्थे । तर यी सबै मीठो याद भएपछि तिनै यादको साहारामा आमालाई सम्झिएर आफू अगाडि बढिरहेको उनी बताउँछन । 

उनको भनाईमा आमाको मुख हेर्ने दिन नेपालीका लागि मात्र होइन, जगतकै लागि महत्वपूर्ण दिन हो । ‘साथमा र जिवित हुञ्जेल धेरै मानिसले आमाको महत्व बुझेको हुँदैन ।’ अध्यक्ष श्रेष्ठले भने–‘स्वर्गीय भएपछि बुझर के महत्व ? त्यही भएर जिवित छँदै आमाबुबाको महत्व बुझेर उहाँहरुलाई माया दिन म तमाम सन्तानहरुलाई आग्रह गर्छु ।’ 

उनका अनुसार व्यापार र व्यवसायमा लागेर हरदम व्यस्त हुने सन्तानहरुले बुबा र आमाको लागि समयको उचित व्यवस्थापन गर्न सक्नुपर्छ । ‘हरेक दिन थोरै भए पनि आफ्नी आमाका लागि समय छुट्याउनुहोस् ।’ उनले भने–‘व्यापार एकपटक डूबे फेरि गर्न सकिन्छ, तर ममताकी खानी, दयाकी खानी आमा एकपटक गुमे कहाँ भेटिन्छ र ?’ 

निष्ठुरी दैवले कलिलैमा चुँड्यो मेरी आमा

सुरेन्द्र गोयल, अध्यक्ष शिवम सिमेन्ट इण्डष्ट्रिज


खाउ खाउ लाउ लाउको उमेरमै आमा बितेको चोट आज पनि ताजै छ सुरेन्द्र गोयलको मनमा । गोयल आफ्नो परिवारको साथ व्यापारको सिलसिलामा काठमाण्डौ बस्दै आएका छन् । उनकी आमा बक्तावरीदेवी गोयल कपिलवस्तुको कृष्णनगरमा बस्थिन । १० वर्षअघि आमालाई हृदयघात भयो र बितिन, गोयल परिवारलाई सोच्दै नसोचेको बज्रपात आइलाग्यो । ‘मेरी आमा बित्दा उहाँको उमेर ५२ वर्षको मात्र थियो ।’ उनले रुञ्चे स्वरमा भने–‘आमाको औधी सम्झना आइरहन्छ । उहाँको अझै उमेर थियो, तर निष्ठुरी दैवले चूँडेर लग्यो, हामी टुहुरा भयौं ।’ 

आमाको सानो उमेरमै निधन भएपछि गोयलसहित ४ छोरा र ३  छोरीलाई पर्नु चोट पर्यो । अझै पनि उनीहरुको मनले आमालाई नै खोजिरहन्छ । माता तीर्थ औशीको दिन त अझ बढी आमाको माया खोज्छ तीन मनहरुले । ‘आमासँगको स्वर्गीय पलहरु सम्झिन्छु अनि स्तब्ध हुन्छु, संसार नै खालि खालि जस्तो लाग्छ ।’ गोयलले भने–‘तर जे नहुनु भइसक्यो, आमाले सिकाउनुभएका सत्मार्गमा हिँड्ने प्रयास गरिरहेको छु, सबैले यही गर्नुपर्छ भन्ने लाग्छ ।’ 

आमाको देहान्तपछि गोयल परिवार हरेक माता तीर्थ औंशीको दिन आफूलाई पायक पर्ने मन्दिर जाने गर्छ । मन्दिर गएर पितृहरुको शान्तिका लागि पूजाआजा गर्ने चलन छ । शुक्रबार पनि आफू मन्दिर गएर आमाको आत्माको शान्तिका लागि पूजाआजा गरेको उनले सुनाए । ‘आमा स्वर्गमै सही, उहाँ खुशी भए सन्तानको उन्नति हुन्छ भन्ने लाग्छ ।’ उनले भने–‘आमाको आशिर्वादकै कारण आज म यो ठाउँमा छु ।’ 

उनले संसार देखाउने आमालाई माया नगर्ने, प्राथमिकतामा नराख्नेहरुप्रति टीठ लागेर आउँछ । ‘आमा एकपटक गुमेपछि फेरि पाइन्न ।’ उनले भने–‘जस–जसले आमालाई राम्रोसँग राख्नुभएको छ, ती सबै छोराछोरीलाई म मुरी मुरी धन्यवाद दिन चाहन्छु ।’