काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले तीन खम्बे कृषि नीति अन्र्तगत सरकारसंग सहकार्य गर्ने भएको छ। 

बाँझो जमिन उपयोग मार्फत कृषि उत्पादन अभियान शुरु गरेको चेम्बरले सरकार, निजी क्षेत्र र सहकारी मार्फत उत्पादनदेखि बजारीकरणसम्म सहकार्य गर्न सरकारसंग प्रस्ताव गरेको हो। काठमाण्डौको जमलस्थित चेम्बर भवनमा कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवसँग चेम्बरले आत्मनिर्भर कृषिका लागि सहकार्य गर्न प्रस्ताव गरेको हो। 

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कृषि उत्पादनदेखि बजारीकरणलाई सहकारीको अवधारणामा लैजानुपर्ने बताए। कृष् िप्रधान मुलुकमा वार्षिक ५० अर्व ५३ करोड रुपैयाँबराबरको खाद्यन्ह आयत हुनु मुलुककै लागि दुर्भाग्य भएको मल्लले बताए। आफ्नै जमिन बाँझो राखेर चामल, मकै, तरकारी, फलफुल, घिउ तेल, चिनीसमेत आयत गर्दा मुलुकले थेग्नै नसक्ने गरि व्यापार घाटा बढेको अध्यक्ष मल्लको भनाइ थियो। 

‘सरकारले उपयुक्त लगानीको वातावरण बनाईदिने हो भने निजी क्षेत्र कृषिमा लगानी गर्न तयार छ। किसानको उत्पादन देखि बजारीकरण राज्यले साथ दिन आवश्यक छ। खेती किसानीमा लाग्ने कृषकलाई राज्यले सहुलियत ऋणसंगै अनुदानको व्यवस्था गर्न आवश्यक छ’, मल्लले भने। 

कृषि क्षेत्रमा लगानी गर्नेलाई राज्यले अनुदान दिएपनि प्रभावकारी हुन नसकेको र सरकारसँग कृषि अनुदान लिएर जग्गाको कारोबार भइरहेको गुनासो बढेको अध्यक्ष मल्लले बताए। ३० प्रतिशत बाँझो जमिनलाई उत्पादनमुलक क्षेत्रमा लगाउन सरकार, निजी क्षेत्र र सहकारीले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए। 

चेम्बरले ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवाला निकायहरुसंग सहकार्य मार्फत कृषि उत्पादन अभियान शुरु गरेको अध्यक्ष मल्लको भनाइ छ। युवाहरुलाई व्यवसायिक खेती तर्फ आर्कषित गर्न चेम्बरले आवश्यक सवै समन्वय गर्नेसमेत उनले बताए। 

कार्यक्रममा कृषिमन्त्री यादवले कृषिमा उत्पादकत्व वृद्धि तथा कृषक मैत्री वातावरण बनाउन सरकार लागि परेको बताए। कृषिमा पर्याप्त बजेट नहुँदा पनि अपेक्षा अनुसारको काम हुन नसकेको यादवको भनाइ थियो। कृषिमा तीन खम्वे अर्थनीतिका लागि आफुले पहल गरिरहेको र कृषि उत्पादनको बजार सुनिश्चितताका लागि मन्त्रालयमा काम भइरहेको यादवले बताए। 

मन्त्री यादवले कृषिले उत्पादन गरेका वस्तुहरुको उत्पादन भण्डारणदेखि बजारीकरण सम्मको व्यवस्था सरकारले गर्नेगरी तयारी भइरहेको जानकारी दिए। उनले पहिलो चरणमा चार प्रदेशमा कृषि उत्पादन बढाउन हरितगृह सञ्चालनमा ल्याउने तयारी भइरहेकोसमेत बताए। 

इजरायलबाट फर्किएका युवाहरुले मन्त्री यादवसँग नेपालमा कृषि उत्पादनमा भोग्नु परेका समस्या सुनाएका थिए। उनीहरुले विदेशी प्रविधी तथा उन्नत जातको विऊ भित्र्याएर नेपालमा कृषि प्रवर्द्धन गर्न खोजे पनि नीतिगत झन्झटका कारण समस्या भएको गुनासो गरे। 
कार्यक्रममा इजरायलका लागि पूर्वराजदूत डा अन्जान शाक्यले इजरायलको कृषि प्रविधीबारे कार्यपत्र प्रस्तुत गरेका थिए।