काठमाण्डौ । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच एकीकरण र चुनावी तालमेलको घोषणालाई पूँजीबजारले भने लाल झण्डाले स्वागत गरेको छ । तीन पार्टी एकीकरण भई बन्ने पार्टीले देशलाई राजनीतिक स्थायीत्व दिई आर्थिक समृद्धिको युुगको प्रादूूर्भाव गर्ने ती दलका शीर्ष नेताहरुले घोषणा गरे पनि त्यसप्रति लगानीकर्ताले यति चाँडै विश्वास गरिहाल्ने अवस्था नरहेको देखिएको छ । लगानीकर्ताको यही बुुझाईका कारण बुधबार बजार दोहोरो अंकले घट्न सहयोग पुुगेको हो । तर, दशैंको ह्याङओभर अझै रहेका कारण समेत बजारमा राताम्ये अवस्था देखिएको छ । 

तर, तीन दलमध्ये सबैले सरकारको नेतृत्व गरिसकेका कारण उनीहरुको एकताबाटै आत्तिनुुपर्ने अवस्था भने छैन । उनीहरुले आफूहरुले दुुईतिहाई ल्याएर आर्थिक समृद्धिको युुग सुरु गर्ने र समाजवादको नयाँ मोडल विश्वलाई प्रस्तुत गर्ने उद्घोष गरेका छन् । तीनै दलका शीर्ष नेताहरुले एकैस्वरमा आर्थिक समृद्धि र उदार अर्थतन्त्रको बिषयलाई पटक पटक प्रतिबद्धताको रुपमा व्यक्त गरिरहेकोले लगानीकर्ताहरुले त्रासमा परिरहनुुपर्ने अवस्था छैन । 

केही लगानीकर्तामा प्रगतिशील पक्ष र प्रजातान्त्रिक पक्षबीच अब तीव्र राजनीतिक ध्रुवीकरण हुने र यसले बजारलाई प्रभाव पार्ने हो कि भन्ने चिन्ता हुनुु चाहि स्वभाविक नै देखिन्छ । 

यो दिन बजार परिसूचक(नेप्से) १३.७ अंकले घटेर १५४२.६५ को विन्दूमा समेटिएको छ । होटल, उत्पादनमूलक र अन्य बाहेक सबै समूहको सूचकमा रातो पोतियो । 

वाणिज्य बैंक समूह १७.४७ अंकले घट्यो भने विकास बैंक, बित्त र बिमा समूह क्रमशः २२.८, २.९६ र ३५.२३ अंकले घट्न पुुगे । जलविद्युत समूह २७.५७ अंकले घटेको बजारमा ट्रेडिङ समूहमा ३.८८ अंकको गिरावट देखियो । यो दिन होटल समूहमा २८.२१, उत्पादनमूलक ९.१४ र अन्य समूह ६.३६ अंकले बढे । 

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा पहिरो गएका कारण सेन्सेटिभ इण्डेक्स ३.१४ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.२४ अंकले घट्न पुुग्यो । 

धेरै कारोबार गर्ने कम्पनी
नेप्से परिसूचकमा दोहोरो अंकको पहिरो गए पनि कारोबार रकम भने बढेको छ । मंगलबार १४ करोडको हाराहारीमा कारोबार भएकोमा बुधबार भने २८ करोडको हाराहारीमा कारोबार भयो । कुल१ सय ४४ कम्पनीका ६ लाख ६० हजार ४३ कित्ता सेयर २७ करोड ९७ लाख ५२ हजार ८ सय ६० रुपैयाँमा खरीदबिक्री भयो । 

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ८२ लाख बढीको कारोबार गर्यो । चिलिमे हाइडोपावर कम्पनीले १ करोड ७९ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड २३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड १६ लाख, ओरिएन्टल होटलले १ करोड १० लाख, एनसीसी बैंकले ९० लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी, एक स्थान जलविद्युत कम्पनी, एक स्थान होटल र एक स्थान विकास बैंकले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन दिव्यश्वरी हाइड्रोले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ६.०४ प्रतिशतले वृद्धि भयो । यस्तै, सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्यमा समेत ६ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

बुधबार ढिलो गरी २०.६८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको नेरुडे लघुवित्त विकास बैंकले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्यमा ६.४८ अंकको गिरावट देखियो । कुुबेर मर्चेन्ट एण्ड फाइनान्स लिमीटेडको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।