काठमाण्डौ । धितोपत्र बोर्डले तीन हाइड्रोपावर कम्पनीको नक्कली सेयर कारोबारमा संलग्न तीनवटा ब्रोकर कम्पनी र तिनका प्रमुखलाई कडा कारबाही गरेको छ । 

बोर्डले चिलिमे हाइड्रोपावर, नेशनल हाइड्रोपावर र सानिमा माई हाइड्रोपावर कम्पनीको नक्कली सेयर कारोबारमा संलग्न ब्रोकर कम्पनी र तिनका संचालकलाई अहिलेसम्मकै ठूलो र कडा कारबाही गरेको हो । 

बोर्डले जारी गरेको विज्ञप्तिअनुसार सम्पति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार अग्रवाल सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज प्रालिलाई १० लाख रुपैयाँको दरले जरीवाना गरिएको छ । यस्तै, यी दुई ब्रोकर कम्पनीमाथि धितोपत्र व्यवसायी नियमावली २०६४ बमोजिम कारोबार गर्नुअघि ग्राहकको पूर्ण विवरण नराखेको  कसुर प्रमाणित भएको भन्दै दुवैलाई थप ५० हजारको दरले जरीवाना लगाइएको छ । झुट्टा विवरण पेस गरेको आधारमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा ४ बमोजिम ती दुवै कम्पनीका प्रमुखलाई थप ५० हजारको दरले जरीवाना गरिएको समेत बोर्डले प्रष्ट्याएको छ । 

बोर्डले चिलिमे हाइड्रोपावर कम्पनीको नक्कली शेयर खरिद बिक्री गरेको पुष्टि भएपछि अग्रवाल सेक्युरिटिजलाई र नेशनल हाइड्रोपावरको नक्कली शेयर कारोबार गरेका कारण श्रीहरि सेक्युरिटिज र तिनका प्रमुखलाई नगद जरीवाना गरेको हो ।

यसैगरी, सिप्रवी सेक्यूरिटिजले सेयरको नक्कली कारोबार भइरहेको सूचना पाए पनि समयमै सो बिषयमा जानकारी नदिएकोमा दोषी ठहरिएको छ । बोर्डका अनुसार धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को नियम २९ को उपनियम (१) मा रहेको धितोपत्र दलालले ग्राहकको लागि कारोबार गर्नु अघि व्यक्ति वा संस्थागत ग्राहकको क्रमशः अनुसूची–१२ र अनुसूची–१३ बमोजिमको ढाँचामा पूर्ण विवरण सहितको अभिलेख राख्नुपर्नेछ भन्ने व्यवस्था बमोजिम ग्राहकको पूर्ण विवरण सहितको अभिलेख राख्न ध्यान नपुर्याएकोले संस्थालाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम रु. पचास हजार जरिवाना गर्नुका साथै धितोपत्र सम्बन्धि ऐनको उपदफा (४) बमोजिमको अवस्थाको पालनामा प्रयाप्त ध्यान नदिएकोले संस्थाका सम्बन्धित कार्यकारी प्रमुखलाई नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४ को नियम २८ को खण्ड (क) बमोजिम सचेत गराएको छ । 

बोर्डले हालसाल बजार अनुगमन तथा सुपरिवेक्षण कार्यलाई सुदृढ गर्दै लगेको परिप्रक्ष्येमा सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत पहिलो कारवाही भएको हो । पछिल्ला दिनमा धितोपत्र सम्बन्धी ऐन बमोजिमको कारवाहीलाई पनि सशक्त बनाउँदै लगिएको बोर्डको दाबी छ ।