काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बिहीबार एकैपटक तीन वाणिज्य बैंकसहित ५ कम्पनीको सेयर कारोबार निलम्बन गरिदिएको छ । 

नेप्सेले सूचिकरण विनियमावलीको उल्लंघन गरी कम्पनीका महत्वपूर्ण सूचना प्रवाह गर्दा लापरबाही गरेको र लगानीकर्तालाई द्विविधामा पारेको भन्दै हिमालयन बैंक, सनराइज बैंक, मेगा बैंक, सांग्रीला डेभलपमेन्ट बैंक र मिसन डेभलपमेन्ट बैंक लिमीटेडको सेयर कारोबार रोक्का गरिदिएको हो । 

धितोपत्र सूचिकरण विनियमावली–२०७५ को दफा २२ को उपदफा १ को खण्ड ‘ङ’मा ‘नगद लाभांश, बोनस सेयर, हकप्रद सेयर तथा थप सेयर निश्कासन सम्बन्धी निर्णय भएमा सो निर्णय हुनेबित्तिकै संचालक समितिको बैठकको समय समेत उल्लेख गरी नेप्सेलाई उपलब्ध गराउनुपर्ने’ व्यवस्था छ । तर, यो व्यवस्था विपरीत महत्वपूर्ण सूचना प्रवाह गर्दा बैंकहरुले गोलमटोल लेखी पठाएका, संचालक समिति बसेको समय समेत उल्लेख नगरिएको, महत्वपूर्ण एजेण्डा भित्र राखिएको, साधारणसभा लगायतका अजेण्डामा समेत लगानीकर्ता झुक्किने खालका सूचना प्रवाह भएकोले बैंकहरुलाई सूचना सम्प्रेषणको शैलीमा सुधार गर्न पटक–पटक पत्राचार गरी झकझक्याउँदा समेत सुधार नआएपछि कारोबार रोक्नुपरेको नेप्से स्रोतले जनाएको छ । 

‘पटक–पटक पत्राचार गरी हामीले सचेत गराउँदा समेत लगानीकर्ताले सही सूचना सही समयमा पाउन नसक्ने अवस्था हुने गरी सूचना सम्प्रेषण भएपछि बाध्य भएर हामीले ती ५ बैंकको कारोबार रोकी स्पष्टीकरण सोधेका हौ ।’ स्रोतले भन्यो–‘लगानीकर्तालाई कम्पनी सम्बन्धी प्रष्ट सूचना समयमै जाओस् भन्ने हाम्रो उद्देश्य हो ।’