काठमाण्डौ । तीनवटा वित्तीय संस्थाको गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम मौका रहेको छ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो । यी तीनवटै वित्तीय संस्थाले भोलि (पुस १ गते) देखि बुक क्लोज गर्दैछन् । यसको मतलब आजसम्म सेयरधनी कायम हुनेहरुले मात्र लाभांश र साधारणसभाका लागि योग्य हुनेछन् ।

स्वालवलम्बन लघुवित्तको १८ औँ वार्षिक साधारणसभा आगामी पुस २० गते काठमाण्डौको गैह्रीधारामा हुनेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको कुल ४० प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

संस्थाले चुक्ता पुँजी ६२ करोड ८८ लाख ८८ हजार ४०० रुपैयाँको २६ प्रतिशतले हुन आउने बोनस सेय र १४ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी नेपाल एग्रो लघुवित्तको चौथो वार्षिक साधारणसभा आगामी पुस १२ गते कास्कीको पोखरामा हुनेछ ।

साधारणसभामा मुख्य अजेन्डाका रुपमा राखिने गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ३ लाख ९३ हजार २४५ रुपैयाँबराबरको नगद लाभांश पारित हुनेछ ।

साधारणसभामा र लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस १ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यस्तै श्री इन्भेस्टभेन्टको आगामी पुस ११ गते काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली बेक्वेंटमा वार्षिक साधारणसभा हुनेछ ।

सभाले कम्पनीले प्रस्ताव गरेको चुक्तापुँजी ८१ करोड रुपैयाँको १०.६५ प्रतिशतले हुन आउने ८ करोड ६२ लाख ६५ हजार रुपैयाँबराबरको नगद लाभांश र २.३५ प्रतिशतले हुन आउने १ करोड ९० लाख ३५ हजार रुपैयाँबराबरको बोनस सेयर पारित गर्नेछ ।