काठमाण्डौ । तीन वाणिज्य बैंकसहित ७ बैंक तथा वित्तीय संस्थाको सेयरमूल्य आज बिहीबार समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि यी बैंक तथा वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। अब यी सबैको सेयर कारोबार समायोजित मूल्यअनुसार नै खुल्नेछ।

मूल्य समायोजनमा पर्ने वाणिज्य बैंकहरुमा एनएमबी बैंक, नेपाल बैंक र सेन्चुरी कमर्सियल बैंक छन्। समायोजनअनुसार एनमबी बैंकको १३ प्रतिशत बोनसका लागि प्रतिकित्ता ३७८ रुपैयाँ कायम गरिएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ४२७ रुपैयाँ थियो।

मूल्य समायोजनका क्रममा प्रतिकित्ता नेपाल बैंकको ३३१ रुपैयाँ र सेन्चुरी कमर्सियल बैंकको १९९ रुपैयाँ कायम भएको छ। यी दुवैले क्रमशः १२ र ५.२५ प्रतिशत बोनस सेयर घोषणा गरेका छन्।

उता कामना सेवा विकास बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता क्रमशः २१६ रुपैयाँ र २३५ रुपैयाँ कायम भएको छ। कामना सेवाले ४.४० प्रतिशत र शाइन रेसुंगाले १३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेका छन्।

यसैगरी साना किसान विकास लघुवित्त र साधना लघुवित्तको सेयरमूल्य पनि आज समायोजन भएको छ। जसअनुसार अब प्रतिकित्ता साना किसानको १ हजार ४१५ रुपैयाँ र साधना लघुवित्तको १ हजार ३८ रुपैयाँ कायम भएको छ। साना किसानले २५ प्रतिशत र साधनाले १८ प्रतिशत बोनस सेयर घोषणा गरेका छन्।

यी सातै बैंक तथा वित्तीय संस्थाको प्रस्तावित लाभांश यही महिनाभित्र हुने वार्षिक साधारणसभाले पारित गर्नेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी सबैले आज पुस १६ गतेदेखि बुक क्लोज गरेका छन्। यसको अर्थ हिजोसम्म कायम सेयरधनीहरु यी बैंक तथा वित्तीय संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।