काठमाण्डौ । तीन वाणिज्य बैंकसहित ८ कम्पनीका पौने ६ लाख बढी कित्ता सेयर आज पुस ५ गतेबाट लिलामीमा राखिएको छ।

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेका प्रभु बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, आईसीएफसी फाइनान्स, नेपाल ग्रामीण विकास लघुवित्त, नेसनल लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा राखेको छ। जसमा प्रभु बैंकको ४६ हजार कित्ता, प्राइम बैंकको ६० हजार ६७५ कित्ता, कुमारी बैंकको २ लाख कित्ता, आईसीएफसीको ५० हजार कित्ता, नेपाल ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता, नेसनल लाइफको १ लाख कित्ता र नेपाल इन्स्योरेन्सको ५० हजार कित्ता रहेका छन्। 

लिलामीमा राखिएकामध्ये प्रतिकित्ता प्रभुको १७५ रुपैयाँ, प्राइमको १९० रुपैयाँ, कुमारीको १७५ रुपैयाँ, आईसीएफसीको २५० रुपैयाँ, नेपाल ग्रामीण विकासको ४०० रुपैयाँ, नेसनल लाइफको ३९४ रुपैयाँ र नेपाल इन्स्योरेन्सको ४५० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ। लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लिलामीमा राखिएका सेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौको बबरमहलस्थित कार्यालयमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति माघ ११ गते बैंकिङ समयसम्म तोकिएको छ।

यसैगरी नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक सेयर पनि आजबाट लिलामीमा राखिएको छ। 

लिलामीमा राखिएका सेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतमा भने कुनै हद लाग्ने छैन।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६५० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौको नक्सालस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति माघ १८ गतेसम्म तोकिएको छ।