– अर्जुन तिमिल्सिना

काठमाण्डौ । गत वर्ष भदौ ३ गते सेयर बजार अहिलेसम्मकै उच्च विन्दु ३१९८ मा बन्द भएको थियो। त्यसपछि बजारले आज डेली क्लोजिङ बेसिसमा अहिलेसम्मकै न्यून विन्दु १८३७.८१ मा बन्द भएको छ। 

योसँगै बजारले डाउ थेउरीअन्तर्गत नयाँ लोवर लो पनि बनाएको छ। योमात्रै नभएर बजारले यो साता अघिल्लोपटकको बुलको उच्च विन्दु १८८१ को विन्दुभन्दा पनि तल बन्द भएको छ। 

बजार तीन महिनापहिले २४ जुनमा १८६२ मा बन्द भएको थियो। त्यसको ठीक तीन महिनापछि आज बजारले दोस्रो डबल बटम बनाउँदै त्यो विन्दुभन्दा तल १८३७.८१ मा बन्द भएर डेली बेसमा दोस्रोपटक डबल बटम बनाएको छ। इन्ट्राडे बेसमा भने बजार योभन्दा पनि तल १८०६ मा आएर फर्किएको थियो। 

बोलिंगर ब्यान्डमार्फत बजारलाई हेर्ने हो भने आज ब्यान्डको तल्लो विन्दुमा रातो मारुबुजु क्यान्डल बनेको छ। म्याक्डीमा पनि हिस्टोग्राम नेगेटिभ र लामा–लामा भएका छन् भने बियरिस क्रसओभर भ्यालिड नै रहेको छ। 

आरएसआई पनि ओभर सोल्ड जोन २६ मा रहेको छ। यसअघि सबैभन्दा न्यून विन्दु २१ मा ‘डब्ल्यू’ आकार बनेपछि बजारले माथिको यात्रा तय गरेको थियो। 

यदि बजारमा ‘डब्ल्यू’ अर्थात डबल बटम बन्छ भने त्यसले ट्रेन्ड रिभर्सल वा माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ। तर, यसका लागि भने बजार आगामी कारोबारमा १९८१ भन्दा माथि बन्द हुनुपर्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषणमात्र हो। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।