काठमाण्डौ । तीन बैंकसहित पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १२ गते अन्तिम दिन रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, लुम्बिनी विकास बैंक, राधी विद्युत कम्पनी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि पुस १३ गते बुक क्लोज गर्दैछन् । यसको अर्थ यी सबैको लाभांश लाभांश पाउन र सभामा भाग लिन आज पुस १२ गतेसम्म सेयरधनी बन्नुपर्नेछ। 

सिद्धार्थ बैंक लिमिटेडले २१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १३.१६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश छन्। 

बोनस सेयर जारीपछि पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिका क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल वा थपघट गर्न निर्देशन वा सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने वा प्राप्ति गर्न उपयुक्त देखिएमा सो कार्य अगाडि बढाउन सम्पूर्ण कार्य गर्ने अख्तियारी पूर्ण रुपमा सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षक प्रतिवेदन पनि स्वीकृति गर्नेछ। 

यसैगरी नेपाल एसबीआई बैंकले आफ्नो २९ औँ वार्षिक साधारणसभा यही पुस २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९का प्रस्तावित हाल कायम चुक्तापुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँको कुल १०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

बोनस सेयर जारीपछि बैंकको जारी तथा चुक्तापुँजीमा परिवर्तन गर्नुपर्ने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने, गाभिने वा प्राप्ति गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत बैंकका तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरुश्र गर्ने तथा गराउने अख्तियार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ। 

लुम्बिनी विकास बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा यही पुस २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कुल १२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३ प्रतिशत बोनस सेयर र बाँकी ९ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

बोनस सेयर जारीपछि चुक्तापुँजी ३ अर्ब ३८ करोड २८ लाख २१ हजार २८६.३२ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। यसका लागि नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। 

सभाले अन्य बैंक तथा वित्तीय संस्थामा गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ। 

यस्तै राधी विद्युत कम्पनीले आर्थिक वर्ष २०७८–७९का लागि चुक्तापुँजीको कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ४.७५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.२५ प्रतिशतले हुन नआउने नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको त्रिपुरेश्वस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। 

सभाले प्रस्तावित लाभांश अनुमोदन गर्नेका साथै नियमावलीमा संशोधन, वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका अजेन्डाहरु अनुमोदन गर्नेछ। 

नियामक निकायहरुको निर्देशनमा नियमावलीका प्रस्तावित संशोधनमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएम सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि चुक्तापुँजीको कुल ५.०२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश छन्। 

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले पुस २२ गते आफ्नो छैटौँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित कम्पनीको कार्यालयमा भौतिक तथा भर्चुअल माध्यमबाट हुनेछ। 

सभाले प्रस्तावित लाभांश अनुमोदन गर्नुका साथै प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्ताव, वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।