काठमाण्डौ । सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले ३ महिनादेखि तलब नपाएको गुनासो गरेका छन्।

तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुका हातमुख जोर्न र बालबालिकाको विद्यालय शुल्क तिर्नसमेत समस्या भएको कर्मचारीहरुको गुनासो छ। समितिका स्विपर सानुबहादुर पोडेलले ४५ हजार रुपैयाँमा किनेको टेलिभिजन २० हजार रुपैयाँमा बेचेर कोठा भाडा तिरेको बताए।

तीन महिनादेखि तलब नपाउँदा समितिका कविराज वैद्यका रुपमा कार्यरत आदित्य ठाकुरलाई पनि घर खर्च चलाउन मुस्किल भएको छ। समितिले क्षमताअनुसार औषधि उत्पादन गर्न नसक्दा समस्या हुन थालेको छ। समितिमा लामो समयदेखि कार्यालय प्रमुखका लागि विवाद हुँदै आएको छ।

समिति गठन आदेशमा आयुर्वेद समूहको ११औँ तहको कर्मचारीलाई कार्यकारी निर्देशक बनाउने व्यवस्था भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १०औँ तहका कर्मचारीलाई निमित्त बनाएर पठाउन थालेपछि लामो समयदेखि कार्यालयमा विवाद हुँदै आएको छ। 

समितिका निमित्त कार्यकारी निर्देशक डा. रामदेव यादवले उत्पादन नभएका कारण पैसा नभएर कर्मचारीलाई तलब खुवाउन नसकेको जानकारी दिए। गत असोज १४ गते निमित्त कार्यालय प्रमुख भएर आएका उनले एक महिनाको तलब र पोसाक भत्ता उपलब्ध गराएको बताए। 

असोजअघि पनि समितिका कर्मचारीले तीन महिनाको तलब एकैपटक पाएका थिए। त्यसबेला डा श्यामबाबु यादव निमित्त कार्यालय प्रमुख भएर आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा कर्मचारीलाई तलब उपलब्ध गराइएको थियो।

निर्वाचन आचारसंहिता जारी भइरहेका बेला निमित्त कार्यालय प्रमुख नियुक्त भएर आएको भन्दै समितिका अधिकांश कर्मचारीले यादवलाई स्वीकारेका छैनन्। निर्वाचन आयोगले मन्त्रालयलाई आचारसंहिता जारी भएका कारण भएको नियुक्ति खारेज गर्न आदेश दिए पनि कार्यान्वयन भएको छैन।

- RSS