– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । काठमाण्डौमा मंगलबार आयोजित ‘निजी क्षेत्रसँग एमाले’ नामक अन्तर्क्रियामा तीन पूर्वअर्थमन्त्रीले पुँजीबजारका समस्या सरकारले विभिन्न निकायसँग छलफल र समन्वय गरेर समाधान गर्न आग्रह गरेका छन्। उनीहरुले निजी क्षेत्र तथा पुँजीबजारका समस्या हल गर्न सरकारले नै पहल गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा पूर्वअर्थमन्त्री युवराज खतिवडाले पुँजीबजारको समस्या हल गर्न प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नर तथा धितोपत्र बोर्डका अध्यक्षबीच समन्वयकारी काम हुनैपर्ने बताए। ‘अहिलेको अवस्थामा सेयर लोनमा १२ करोडको क्याप लगाउनु गलत हो’, उनले भने, ‘हिजो बजार उच्च हुँदा यो ठीक थियो होला। जोखिम पनि त्यहीअनुसारको थियो। तर, आज बजार निकै तल्लो विन्दुमा छ। यस्तो बेलामा १२ करोडको क्याप र जोखिम भार १५० प्रतिशत लगाउनुको कुनै अर्थ छैन। जोखिम भार घटाउनुपर्छ।’

धितोपत्र बोर्डले पनि बजार घटेको बेलामा धमाधम आईपीओ र हकप्रद ल्याउन दिनु गलत रहेको खतिवडाले बताए। ‘धितोपत्र बोर्डले पनि आफ्नो काम राम्रोसँग गर्नु पर्यो’, उनले भने।

नेप्सेले पनि छिटोभन्दा छिटो कारोबार हुने प्रणालीको विकास गर्नुपर्ने खतिवडाको सुझाव थियो। 

राष्ट्र बैंकको एकीकृत निर्देशिकाले पनि लगानीकर्ता र निजी क्षेत्रलाई कठिन अवस्थामा पुर्याएको खतिवडाको भनाइ थियो। 

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि सेयर लोनमा १२ करोड क्यापको जरुरी नभएको बताए। ‘अहिले जोखिम भार १५० प्रतिशत लगाउन आवश्यक छैन’, उनले भने, ‘जोखिम भार घटाउनुपर्छ।’ 

पुँजीबजार र अर्थतन्त्रको समस्या समाधानका लागि सरकारले गभर्नरलाई काम लगाउन नसक्नु र दोषमात्र लगाउनु पनि उचित नरहेको पाण्डेले बताए। 

अहिले देशमा ऋण बढेको तर त्योअनुसारको प्रतिफल नबढेको पनि पाण्डेले बताए। ‘अहिलेको अर्थतन्त्र ऋण लिन पनि नसक्ने र दिन पनि नसक्ने अवस्थामा छ’, उनले भने। 

पाण्डेले सेयर बजारमा बैंकहरुले कुल ऋणको २ प्रतिशतमात्र होइन बढाएर ५ तथा बढी नै बनाउँदा पनि समस्या नहुने बताए। 

सोही कार्यक्रममा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पनि सेयर बजारमा एमाले भित्रिँदा हरियो हुने र बाहिरिँदा रातो हुने गरेको बताए। ‘हामीले लिने सही नीतिले सेयर बजार बढेको थियो’, पौडेलले भने, ‘त्यसैले सेयर बजारमा सुधार ल्याउन नीतिगत परिमार्जन हुन आवश्यक छ।’

अहिले उद्योग–व्यवसाय र पुँजीबजारमा देखिएका समस्या समन्वय तथा छलफलबाट समाधान गर्न सरकारलाई पौडेलले सुझाव दिए।