काठमाण्डौ । लगातार बढिरहेको बजारमा करेक्सन भएको छ । करेक्सन भई बजार साताको पहिलो कारोबार दिन आइतबार ४.७८ अंकले घटेको हो । 

अघिल्लो साताको अधिकांश कारोबार दिन बढेको बजारमा प्रफिट बुकको लहर चलेपछि अन्तिम अवस्थामा करेक्सन भई बन्द भएको हो। 

बजार खुलेसँगै जीवन तथा निर्जीवन बिमा कम्पनीको सेयर चम्किएका थिए । तर, केही समयमै जीवन बिमा कम्पनीमा प्रफिट बुकको लहर देखिएको थियो । यो अवधिमा निर्जीवन बिमा कम्पनीका कतिपय सेयर चम्किएका थिए । 

सुरुवाती समयमा निर्जीवन बिमा कम्पनीसँगै व्यापार समूह र होटल समूहमा समेत बढोत्तरी देखिएको थियो । त्यसपछि केही समयसम्म बैंकिङ र विकास बैंक समूह समेत चम्कियो । 

तर, यी समूहमा पनि प्रफिट बुकिङको लहर देखियो र बजार बन्द हुँदा करेक्सन भई नेप्से परिसूचक ११६७.८६ विन्दूमा सीमित हुन पुग्यो। 

आइतबारको बजार खुलेदेखि नै निकै उतारचढावपूर्ण अवस्था देखियो। 

बजार बन्द हुँदा बैंकिङ, ट्रेडिङ र अन्य समूहको सूचक मात्र बढेको छ । बाँकी सबै समूहको उपसूचकमा रातो पोतियो । 

बैंकिङ समूह २.८२ अंकले बढ्यो भने व्यापार समूह १५.९२ अंक तथा अन्य समूह २.२९ अंकले बढे । 

यो दिन होटल समूहमा ४३.२१ अंकको गिरावट देखियो भने विकास बैंक समूह ४.४७ अंक, जलविद्युत समूहमा १६.१७ अंक, वित्त समूहमा २.३१ अंक, निर्जीवन बिमा समूहमा ३३.५३ अंक, उत्पादन तथा प्रशोधन समूहमा १३.८५, माइक्रोफाइनान्समा ३६.२८ अंक, जीवन बिमामा १५१.९२ अंक तथा म्युचुअल फण्डमा ०.०६ अंकको गिरावट आयो । 

यो नेप्से परिसूचक घटे पनि राम्रा र बलिया कम्पनीको सेयरमा भने खरीद चाप नै देखियो । जसका कारण सेन्सेटिभ इण्डेक्स ०.०८ अंकले सुध्रियो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा भने ०.३४ अंकले गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७२ कम्पनीका २० लाख ७२ हजार २३६ कित्ता सेयर ६८ करोड ६० लाख ७६ हजार १११ रुपैयाँमा कारोबार भयो । 

सबैभन्दा बढी एनएमबी बैंकले ६ करोड ३७ लाख बढीको कारोबार गर्यो। 

नेपाल बैंकले ४ करोड ५४ लाख बढीको कारोबार गरेको बजारमा स्वाबलम्बन लघुवित्तको ३ करोड ८५ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । यो दिन एनआइसी एशिया बैंकले २ करोड ६१ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ३१ लाख, शिवम सिमेन्टले २ करोड १ लाख, स्वाबलम्बन लघुवित्तले १ करोड ९३ लाख, प्रभू इन्स्योरेन्सले १ करोड ५६ लाख, डिप्रोक्स लघुवित्तले १ करोड ४० लाख र नवील बैंकले १ करोड २६ लाख बढीको कारोबार गरे। 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन राष्ट्रिय बिमा कम्पनी लिमीटेडको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । यो कम्पनीको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता रु. ९६६९ को उचाईमा पुग्यो । 

यस्तै, यूनाइटेड इन्स्योरेन्सको मूल्य ६.४१ प्रतिशत, यूनाइटेड मोदी हाइड्रोपावरको मूल्य ५.६१ तथा सिन्धु विकास बैंकको मूल्य ५.५६ प्रतिशतले बढ्यो ।

यो दिन स्पर्श लघुवित्तका लगानीकर्ताले धेरै गुमाए । कम्पनीको सेयरमूल्यमा ६.४ प्रतिशतको गिरावट आयो ।