काठमाण्डौ । सेयर बजार बुधबार तीव्र उतार-चढावबीच दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज १६.४२ अंकले बढेको हो। योसँगै बजार २०३७.०६ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको ३.८२ अंकले उकालो लागेर ३८३.६९ को विन्दुमा उक्लिएको छ। कारोबार रकम ५ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे आज बजारमा इन्ट्राडेमै करेक्सन भएको बताउँछन्। ‘यो भनेको नाफा बुक नै हो’, उनले भने, ‘१८०० को विन्दुमा पसेकाहरुले नाफा बुक गर्दा बजारमा प्रभाव परेको हो।’

बजार अब सानातिना करेक्सनका साथ माथि नै जाने घिमिरे बताउँछन्। ‘किनकि चौतर्फी रुपमासकारात्मक खबरहरु आइरहेका छन्’, उनले भने, ‘बैंकहरुको स्प्रेडदर घट्दैछ, यसले कर्जाको ब्याजदर पनि घट्छ। मौद्रिक नीतिमा पनि सुधारको आशा गर्न सकिन्छ।’

त्यसैले बजार २५०० सम्म पुग्ने आधार बनिरहेको घिमिरे बताउँछन्। 

अर्का बजार जानकार सूर्यनारायण पौडेल आज बजारमा अन्तिम समय बिक्री दबाब परेको बताउँछन्। ‘केही कम्पनीमा नाफा बुक भएको छ’, उनले भने। 

बजारमा बुल सुरु भयो भन्ने अवस्था छैन तर बुलका आधारहरु भने बन्दै गएको पौडेलको भनाइ छ। ‘बजार करेक्सन हुँदै माथि जाने हो’, उनले भने, ‘बजार १९८० भन्दा माथि–माथि नै कारोबार हुन्छ भने बजारले अप ट्रेड लिँदै गरेको भन्न सकिन्छ।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। 

यो दिन अन्य समूह सर्वाधिक २.३५ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह १.७३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.२९ प्रतिशत, जलविद्युत समूहमा ०.४७ प्रतिशत, जीवन बीमा समूहमा १.५८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६४ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.०८ प्रतिशतको बढोत्तरी भएको छ। 

आज विकास बैंक समूह सर्वाधिक ०.९६ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.९३ प्रतिशतले घट्दा वित्त समूहमा ०.९२ प्रतिशत, लगानी समूहमा ०.५४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६३ प्रतिशत र व्यापार समूहमा ०.७७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७५ कम्पनीका १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर ५ अर्ब १ करोड ७८ लाख ६ हजार ६८३ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक २८ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको २४ करोड ३३ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १३ करोड ३४ लाख रुपैयाँ, नेपाल टेलिकमको १२ करोड ८८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १० करोड ९२ लाख रुपैयाँ, सोल्टी होटेलको १० करोड ६४ लाख रुपैयाँ, नागरिक लगानी कोषको ८ करोड ५९ लाख रुपैयाँ, अपी पावरको ८ करोड ४० लाख रुपैयाँ र अपर तामाकोशीको ८ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने 

यो दिन खप्तड लघुवित्त र सिटी होटेलका लगानीकर्ता मालामाल भए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

आज राष्ट्रिय बीमा कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।