– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल अब बैंक ब्याजदर नबढ्ने बताउँछन्। 

बिजशालासँगको कुराकानीका अध्यक्ष ढकालले अब बैंक ब्याजदर बढ्ने सम्भावना नरहेकोले बजार आसन्न चुनावपछि विस्तारै बढ्न थाल्ने दाबी पनि गरेका छन्। ‘अहिले बजार धेरै घटिसक्यो। अब यहाँभन्दा तल जाने ठाउँ नै छैन’, मुक्तिनाथ कृषि कम्पनीका डाइरेक्टरसमेत रहेका ढकालले भने, ‘बजार अहिले निकै तल आएको छ। नेपालको सबैभन्दा तल्लो ठाउँ झापाको  केचना र उपल्लो तह सगरमाथा भएजस्तै अहिले बजार तल्लो स्थानमा आएको छ। त्यसैले अब बजार यहाँभन्दा तल जाँदैन।’

अहिले कम्पनीहरुको सेयरभाउ बजारको इन्डेक्स ९०० को हाराहारीमा हुँदाको अवस्थामा आएको ढकालको भनाइ छ। ‘त्यो बेलामा बैंकहरुको सेयरभाउभन्दा तल अहिले आएको छ’, उनले भने, ‘अहिले  बजारमा राष्ट्र बैंकको नीतिगत व्यवस्थाले प्रभाव परेको छ। जोखिम भारित औसतजस्ता नीतिले बजार प्रभावित भएको छ।’

यही ब्याजदर कायमै रहिरहे सबैले ब्याजमा पैसा लगाएर बस्ने ढकाल बताउँछन्। ‘महँगो ब्याजदर हुँदा उद्योगधन्दा चल्न सक्दैन’, उनले भने, ‘त्यसैले बैंकको ब्याजदर घट्नुपर्छ र घट्छ पनि।’

अब विस्तारै तरलता सहज हुँदै जाने र बैंक तथा वित्तीय संस्थामा पैसा बढ्ने हुनाले ब्याज आफैँ घट्ने ढकालको तर्क छ। 

अर्को प्रसंगमा ढकालले बैंक तथा वित्तीय संस्थालाई पुँजीबजारमा गरेको लगानी असुली गर्न निकै सहज रहेको बताए। ‘सेयर लोन डिफल्ट हुने अवस्था नै छैन’, उनले भने, ‘त्यसैले सेयर लोन पनि सहजै पाइन्छ।’

पहिले कोभिडको बेलामा जसरी अहिले नै उछाल नआए पनि बजार अब विस्तारै माथि नै जाने ढकाल बताउँछन्। ‘केही समय लाग्ला तर बजार माथि नै जान्छ’, उनले भने, ‘अबको एक–डेढ वर्षमा बजार ५००० को विन्दुसम्म पनि पुग्न सक्छ। त्यसैले अहिले गरेको लगानीमा जोखिम कम र उच्च प्रतिफलको आशा गर्न सकिन्छ।’

अहिले रिटर्न बेसमा लगानी गर्ने हो भने बैंक र जलविद्युत कम्पनीहरुको भविष्य झनै राम्रो रहेको ढकालको भनाइ छ। ‘अहिले विश्वकै अर्थतन्त्र जटिल अवस्थामा छ, त्यसको प्रभाव प्रत्यक्ष वा अप्रत्क्ष रुपमा नेपालमा परेको छ’, उनले भने, ‘तर, विस्तार अर्थतन्त्र सहज हुँदै गएकोले सेयर बजारको भविष्य पनि उज्ज्वल नै रहेको छ।’