– प्रकाश न्यौपाने

काठमाण्डौ । सेयर बजार देशको अर्थतन्त्रको मेरुदन्ड मानिन्छ। अर्थतन्त्र कता जाँदैछ भनेर थाहा पाउनका लागि सेयर बजारको लयले बताउँछ। 

हरेक कालखण्डमा आन्तरिक तथा बाहिरी संकटका कारण देशको अर्थतन्त्र बिग्रिने गरेको इतिहास छ। अर्थतन्त्र कस्तो बनाउने भन्ने जिम्मा राजनीति नेता, दल र सरकारको नै हुन्छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल नेपालको सेयर बजारको भविष्य उज्ज्वल रहेको बताउँछन्। ‘अन्तर्राष्ट्रिय अर्थतन्त्र बिग्रिएका कारण हाम्रो अर्थतन्त्रमा पनि प्रभाव परेको हो’, बिजशालासँगको कुराकानीमा उनले भने, ‘विस्तारै अर्थतन्त्र सुधार हुँदै गएको छ। नयाँ वर्षबाट कर्जाको ब्याजदर पनि विस्तारै घट्दै जानेछ। अनि बजारले पनि लय समात्नेछ।’

राष्ट्रपतिको निर्वाचनपछि सरकारमा कुन–कुन दल सहभागी हुन्छन् भनेर निश्चित हुने ढकाल बताउँछन्। ‘सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा सेयर बजारका ५५ लाख लगानीकर्ताको हित हुने गरी व्यवस्थाहरु ल्याउने आशा गर्न सकिन्छ’, उनले भने। 

सेयर बजारमा लगानीकर्ताको संख्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै ढकालले भने, ‘सेयर बजारलाई सरकारले बेलैमा सम्बोधन नगर्दा लगानीकर्तालाई ठूलो असर गर्छ। जसको असर सरकार र राजनीतिक दलमा पनि पर्छ।’

राष्ट्र बैंकले आफूमातहतका बैंक तथा वित्तीय संस्थाहरुलाई नियमविपरीत चल्न नदिन र उनीहरुलाई मजबुत बनाउन बेला–बेलामा नयाँ नीति–नियम ल्याउने गरेको ढकाल बताउँछन्। ‘कहिलेकाहीँ त्यस्ता नीति–नियमले सेयर बजारमा प्रतिकूल असर पार्छ’, उनले भने, ‘तर, त्यस्तो असर क्षणिक मात्र हुन्छ। विस्तारै फेरि बजार आफ्नै लयमा चल्छ।’

अहिले दीर्घकालीन लगानीकर्ताभन्दा अल्पकालीनको संख्या बढी भएका कारण बजारमा ठूलो उतावचढाव आइरहेको ढकालको भनाइ छ। ‘लगानीकर्ता परिपक्क हुँदै गर्दा अर्थतन्त्रमा सुधार हुँदै जान्छ’, उनले भने। 

तरलता सहज हुँदै गएपछि राष्ट्र बैंक आफैँले सेयर धितो कर्जामा १२ करोडको सीमा खुला गर्नेमा अध्यक्ष ढकाल ढुक्क छन्। ‘राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट १२ करोडको सीमा हटाएको भए पनि केही दिनलाई मात्र बजार बढ्ने थियो होला’, उनले भने, ‘किनकि बजार बढ्नलाई अर्थतन्त्रमा सुधार हुन आवश्यक छ। त्यसैले अहिले १२ करोडको सीमा नहटे पनि अर्थतन्त्रमा सुधार हुँदै गएकोले राष्ट्र बैंक आफैँले हटाउनेछ।’ 

अर्थतन्त्र मजबुत हुँदै जाँदा बजार पनि उकालो चढ्दै जाने ढकालको तर्क छ। ‘बैंकमा कर्जाका लागि पैसा थुप्रिएपछि सबै कुरा सहज भएर जान्छ’, उनले भने, ‘त्यसैले अहिले दीर्घकालीन लगानी गर्ने र केही समय धैर्य गर्नेले सेयर बजारबाट पक्कै पनि राम्रो नाफा कमाउनेछन्।’