काठमाण्डौ । लामो समयदेखि तेस्रो मुलुकबाट हुने आयात निर्यातमा भारतप्रतिको निर्भरता अन्तका लागि अघिल्लो सरकारको सम्झौता कार्यान्वयनको तयारीलाई सरकारले तीव्र बनाएको छ । 

यही तयारी स्वरुप तेश्रो मुलुकसँग व्यापारका लागि नेपालले चीनसँग तीनवटा बन्दरगाहको प्रस्ताव पेश गरेको छ । 

गत वर्ष भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि तत्कालीन सरकारले चीनसँग पारवहन सम्झौताको प्रस्ताव अगाडि बढाएको थियो । सोही प्रस्ताव अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुवै देशलाई तेश्रो मुलुकसँग व्यापारका लागि आफ्नो भूमि प्रयोग गर्न दिने गरी व्यापार तथा पारवहन सम्झौता भएको थियो । 

हालसम्म नेपालको तेस्रो मुलुकबाट हुने आयात निर्यात अहिले भारतमा निर्भर थियो । बंगलादेशसँग पारवहन सम्झौता भए पनि उपयोगहीन छ ।

चिनिया समाचार एजेन्सी सिन्ह्वाको एक रिपोर्ट अनुसार सोही सम्झौतालाई कार्यान्वयनमा ल्याउन आवश्यक मोडालिटीबारे छलफलका लागि संयुक्त बैठकको मिति प्रस्ताव भएको छ । सिन्ह्वाले बाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुलाई उद्धृत गर्दै लेखे अनुसार नेपालले चीनसामू कात्तिक २१ देखि २३ मा बैठक बस्ने प्रस्ताव गरेको छ । 

सैंजुका अनुसार नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि दुई देशको ४ देखि ५ वटा नाकाबाट ट्रान्जिट सुविधासहित चीनको २ देखि ३ बन्दरगाह प्रयोग गर्न चाहेको छ । तर नेपालले चिनियाँ पक्षलाई पठाएको प्रस्तावमा सीमा नाका र बन्दरगाह भने किटान गरेको छैन ।