काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा बुधबार तेस्रो दिनसम्म २७ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

कम्पनीले गत असोज ११ गतेबाट १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। कुल निष्कासन गरिएको कित्तामध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिको तथा ६ प्रतिशतले हुने १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार आज साँझ साढे ५ बजेसम्म यो आईपीओमा १५ लाख ७७ हजार ८ आवेदकबाट कुल २ करोड १ लाख २५ हजार ३७० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १९.०५ गुणाले बढी हो। 

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

मागभन्दा बढी आवेदन परेकोले बुद्धिभूमि नेपालको आईपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ। यो आईपीओमा भोलि असोज १४ गतेसम्म आवेदन दिन सकिन्छ। 

धितोपत्र बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। 

यसअघि यो कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। 

यो कम्पनीले नुवाकोट जिल्लामा ४.९९३ मेगावाट क्षमताको तल्लो टाँडीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको प्रतिमेगावाट लागत २३.८ करोड रुपैयाँ रहेको छ। यो कम्पनीको लगानी फिर्ता हुने अवधि (पे ब्याक पिरियड) ५.४९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ८.५८ वर्ष रहेको छ।