काठमाण्डौ । नेपालको तेस्रो राष्ट्रपति चुन्न आज मतदान सुरु भएको छ। 

काठमाण्डौको नयाँबानेश्वरस्थित संसद भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो। निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ। निर्वाचनलाई लक्षित गरी संसद भवन भित्र र बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिका उम्मेदवार बनेका छन्। मतदान सकिएलगत्तै संसद भवनभित्रैको एउटा हलमा मतगणना सुरु हुनेछ। आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ। 

राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य तथा प्रदेशसभा सदस्यहरुले मतदान गर्न पाउनेछन्। संघीय सांसदहरुका लागि रातो र प्रदेशसभा सदस्यहरुका लागि हरियो रङको मतपत्र बनाइएको छ। मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ।

संघीय सांसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)को मतभार ७९ र प्रदेश सांसदको ४८ छ। सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ। राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुने र दुईपटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति पुनः निर्वाचनमा उम्मेदवार हुन नसक्ने संविधानमा व्यवस्था छ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हुन्। कांग्रेसबाट चुनिएका यादवको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो। 

दोस्रो राष्ट्रपतिका रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन्। भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिँदैछ। 

उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते हुनेछ।