काठमाण्डौ । सेयर बजारमा आज सोमबार तेहेरो अंकको गिरावट आएको छ।
बजार आज ११४.०२ अंकको पहिरो गएको हो। योसँगै नेप्से परिसूचक २६९८.२५ को विन्दुमा झरेको छ। यो दिन सेन्सेटिभ इन्डेक्स पनि १९.५१ अंकले ओरालो लागेर ५०६.२७ को विन्दुमा ओर्लेको छ। कारोबार पनि साढे ८ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार वीरेन्द्र बिष्ट बजरालाई सबैतिरबाट प्रहार हुँदा अहिलेको नकारात्मक अवस्था सिर्जना भएको बताउँछन्। ‘बैंक ब्याजदर केही बढ्दा बजारप्रति विश्वास गुम्यो’, उनले भने, ‘जसले गर्दा लगानीकर्ताको मनोबल गिर्यो।’
बिष्टले बजार अझै केही समय साइडवेजमा जान सक्ने बताए। ‘तर बजार बियरिस नै भइसकेको होइन’, उनले भने, ‘नियामकका केही कदमले बजारमा नकारात्मक असर परेको छ, त्यसैले बेलैमा नियामक निकाय सच्चिएर बजार पुनः लयमा फर्किन समय लाग्दैन।’
अर्कोतिर पहिले इतिहास हेर्ने हो भने ५६ महिनाको बुलिस ट्रेन्ड हुने गरेको उल्लेख गर्दै बिष्टले भने, ‘अहिले बुलिस ट्रेन्डको ३२ महिना चल्दैछ, यसबीच २० प्रतिशतसम्मको करेक्सन सामान्य नै हो।’
त्यस्तै साउन–भदौ पहिला पनि सेयर बजारमा केही करेक्सन आउने गरेकोमा अहिले घटाइलाई पनि सामान्य रुपमा लिनुपर्ने बिष्टको भनाइ छ। ‘यद्यपि अहिले विविध कारणले बजार थप प्रभावित भएको छ’, उनले भने, ‘त्यसैले नियामकले उचित नीति लिन आवश्यक छ।’
सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने बजार केही समय २५०० देखि ३००० कै बीचमा रहन सक्ने बताउँछन्। ‘बजार बियरिस नै भइसकेको अवस्था होइन’, उनले भने।
बजारलाई सबैतिरबाट आक्रमण भएको उल्लेख न्यौपानेले केन्द्रीय बैंकको नीतिले बजार थप प्रभावित भएको बताए। ‘बजेट प्रतिनिधिसभाबाट पास भएको छ, अब सरकारी खर्च बढेर बजारमा पैसा आउँछ, यसले तरलता सहज हुन्छ’, उनले भने, ‘जसले ब्याजदरमा स्थिरता हुन सक्छ। १० प्रतिशतभन्दा कम ब्याज भएमा बजार फेरि माथि नै जानेछ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक ८.५६ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ६.८ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा २.७ प्रतिशत, विकास बैंक समूहमा ६.३५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.७२ प्रतिशत, लगानी समूहमा ५.३९ प्रतिशत, जीवन बीमा समूहमा ५.०७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.३९ प्रतिशत, लघुवित्त समूहमा ३.०७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ३.०८ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.८४ प्रतिशत, अन्य समूहमा ३.८७ प्रतिशत र व्यापार समूहमा ४.८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता सेयर ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९.२७ रुपैयाँमा किनबेच भएका छन्।
यो दिनमा अरुण भ्याली हाइड्रोपावरको सार्वधिक ४० करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको २२ करोड ५५ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको १८ करोड ४४ लाख रुपैयाँ, युनाइटेड इदी मोदी हाइड्रोपावरको १७ करोड ६६ लाख रुपैयाँ, अपी पावरको १६ करोड ६३ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १६ करोड ३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ५० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड १० लाख रुपैयाँ, अरुण काबेली पावरको १५ करोड ४ लाख रुपैयाँ र रिडी हाइड्रोपावरको १४ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट नै लागेको छ।
यो दिन २४ वटा कम्पनीको सेयरभाउमा नेगेटिभ सर्किट लागेको छ। गुडविल फाइनान्स, पोखरा फाइनानस, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास र युनाइटेड इदी मर्दीको सेयरमूल्यमा १० प्रतिशत तथा सिंगटी हाइड्रो, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर पाटर्नर, सेन्ट्रल फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, जोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, ग्रिनलाइफ हाइड्रोपावर, रिलायन्स फाइनान्स, पाँचथर पावर, खानीखोला हाइड्रोपावर, रिडी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको हो। यसैगरी अन्य ८ कम्पनीको सेयरभाउ पनि ९ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19