काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म ४२ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। 

तेह्रथुम पावरले यो कम्पनीले गत भदौ ९ गतेबाट रु। ८ करोडको आईपीओमा आवेदन खुला गरेको थियो। आज बैंकिङ समयसम्म यस आईपीओमा आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फन्डहरुका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्। 

आईपीओ बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्म तेह्रथुम पावरको आईपीओमा २३ लाख ५७ हजार ९ आवेदकबाट ३ करोड १२ लाख ५४ हजार २२० कित्ता खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा ४२ गुणाले बढी हो। 
यस हिसाबले यो आईपीओमा झन्डै २३ लाख आवेदकको हात खालि हुने भएको छ। गोलाप्रथाबाट ७४ हजार ४०० आवेदकले १० कित्ताका दरले सेयर पाउने भएका छन्।

कम्पनीले यसअघि आयोजना प्रभावितका लागि ४ लाख कित्ता सेयर बिक्री गरिसकेको छ। यो कम्पनीले ७।५ मेगावाटको माथिल्लो खोरुंगा साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ। इक्रा नेपालले यस कम्पनीको आईपीओलाई ग्रेड फोर प्लसको रेटिङ दिएको छ।