त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को मुख्य काम सकिएको छ । विमानस्थलको तीन हजार ५० मिटर लामो धावनमार्गको पहिलो चरणको कालोपत्र ‘पिच’ सम्पन्न भएको विमानस्थलले जनाएको छ ।
धावनमार्ग स्तरोन्नतिको पहिलो चरणको मुख्य काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार धावनमार्ग खनेर पिच परिवर्तन गर्ने पहिलो चरणको काम सकिएको छ । अब पुनः पातलो गरी कालोपत्र गरिनेछ । बाँकी काम यही असार १५ भित्रै सम्पन्न गर्नेगरी धमाधम काम भइरहेको छ ।
आयोजनाले गत चैत १८ देखि धावनमार्ग मर्मतको काम शुरु गरेको थियो । नेपालको उड्डयन इतिहासमै पहिलोपटक विमानस्थलको धावनमार्ग पूर्णरुपमा पिच परिवर्तन गर्न लागिएको हो । स्तरोन्नतिको काम थालिएको तीन महीनासम्म दैनिक १० घण्टा उडान बन्द गरेर काम गरिँदै आएको छ ।
आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले दिनुभएको जानकारीअनुसार धावनमार्गको पहिलो चरणको कालोपत्र यही जेठ २५ गते सकिएको थियो । दोस्रो चरणको पिच राख्ने कार्य पुनः शुरु भइसकेकाले अबको १५ दिनभित्र धावनमार्गको स्तरोन्नतिको काम सकिने श्रेष्ठको भनाइ थियो ।
धावनमार्ग मर्मतको पहिलो चरणमा तल्लो ‘लेयर’ को काम सकिएको छ । यसमा २० सेन्टिमिटर कालोपत्र गरिएको छ । अब दोस्रो चरणमा ६.५ सेन्टिमिटर कालोपत्र थपिनेछ । धावनमार्गको मर्मतसँगै पहिलो पटलक ‘रनवे सेन्टरलाइन लाइट’ जडान गरिएको छ । बत्ती जडानको अहिलेसम्म ‘डट’ हाल्ने काम सकिएको छ । यसअघि विमानस्थलमा रनवेको ‘एज लाइट’ मात्र थियो ।
स्तरोन्नतिको शुरुआती चरणमा एक÷दुई दिनबाहेक बिना अवरोध तीव्र गतिमा काम भइरहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । नेपाली तथा चिनियाँसहित २५० भन्दा बढी जनशक्तिले काम गरिरहेका छन् ।
धावनमार्गको पिच परिवर्तनका लागि आवश्यक सामग्रीको व्यवस्थापन तथा पर्याप्त जनशक्ति परिचालन गरिएको छ । धावनमार्ग मर्मतको काम तीव्र गतिमा अघि बढेकाले निर्धारित समयअगाडि नै काम सकिने आयोजना निर्देशक पौडेलको भनाइ छ । धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहज हुनाका साथै विमान ‘होल्ड’ हुने समस्याको पनि अन्त्य हुने विमानस्थलले जनाएको छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किँदा खासगरी वर्षा याममा बढी समस्या उत्पन्न हुने गरेको थियो ।
सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएको थियो । धावनमार्ग मर्मत जिरो टूबाट शुरु गरिएको थियो । हरेक दिन ८० देखि १०० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर बिहान ८ बजे सञ्चालनका लागि तयार गरिन्छ ।
धावनमार्ग स्तरोन्नतिका लागि क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनसँग निर्माण सम्झौता गरेको थियो । निर्माण कम्पनीले मूल्यअभिवृद्धि करसहित रु चार अर्ब २७ करोडमा धावनमार्ग परिवर्तनका लागि सम्झौता गरेको छ । उक्त कार्यको प्राविधिक रेखदेखका लागि परामर्शदाता कोरियन कम्पनी योसिन इञ्जिनीयरिङ कर्पोरेशन कोरियाले जिम्मा पाएको छ ।
गौचरनबाट शुरु भएको विमानस्थलको ७० वर्षे इतिहासमा निकै उतारचढाव व्यहोरिसकेको छ । सन् १९७५ मा स्तरीकरण गर्दै धावनमार्गलाई तीन हजार ५० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बनाएपछि उक्त विमानस्थलमा प्रायः सबै प्रकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय विमान उडान र अवतरण गर्न सकिएको हो । हाल यो विमानस्थलबाट साना १९ सिटरदेखि बोइङ–७७७ जस्ता ठूला विमान उडान अवतरण हुँदै आएका छन् ।
सन् २०१९ देखि २०११ सम्म विमानस्थलको धावनमार्गको ‘ओभर ले’ गरिएको थियो । सन् २०१३ देखि पिच उप्किने समस्या आयो । त्यसको अस्थायी समाधान गरिरहेका बेला सन् २०१५ को भूकम्पले सतहमा खासै क्षति नपु¥याएको भए पनि भित्री तहमा समस्या उब्जेको विज्ञहरुले बताएका थिए ।
अन्तर्राष्ट्रिय परामर्शदाताबाट पनि रनवे तथा ट्याक्सी वेका ‘पेभमेन्ट’ उप्काएर अन्तर्राष्ट्रियस्तरमा प्रचलनमा रहेको नयाँ प्रविधि प्रयोग गरी नयाँ पेभमेन्ट राखी रिह्याब गर्न सुझाएका थिए । अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् ।