काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका ठूला भनेर चिनिएका आंगिक क्याम्पसमा विभिन्न विषयमा १० जना पनि विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छैनन् । स्नातकोत्तर तहमा १० जनाभन्दा कम विद्यार्थी भएका क्याम्पसमा त्रिविले यो वर्ष त्यस्ता विषय पढाउन बन्देज लगाउदै छ ।
यस वर्षदेखि उपत्यकाका सबै क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएपछि लिइएको प्रवेश परीक्षामा विद्यार्थीको खडेरी देखिएको हो । कतिपय केन्द्रीय विभागमा एकदमै न्यून विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन शिवलाल भुसालले १० भन्दा कम भएका क्याम्पसका विद्यार्थी अन्यत्र लगेर कार्यक्रम बन्द गरिने बताए ।
त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयले गत शुक्रबार लिएको प्रवेश परीक्षामा केन्द्रीय विभाग र केही ठूला क्याम्पसका विषयमा समेत विद्यार्थीको खडेरी लागेको हो । नेपाली, मानवशास्त्र, जनसंख्या र अंग्रेजी विषयमा केही क्याम्पसमा विद्यार्थी संकट देखिएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन प्रा.डा.राजकुमार पोखरेलले १० जनाभन्दा कम विद्यार्थी भएका विषयमा के गर्ने भन्ने विषयमा डिन कार्यालयले केही दिनमा निर्णय गर्ने बताए ।
तीन विभागमा १० भन्दा कम विद्यार्थी
त्रिवि मानविकी संकायमा तीनवटा केन्द्रीय विभागमा पनि १० जनाभन्दा कम विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छन् । इतिहास केन्द्रीय विभागमा तीन, हिन्दीमा चार र संस्कृत केन्द्रीय विभागमा सातजना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।
धेरै विद्यार्थी हुने पाँच विषय
मानविकी संकायका उपत्यकाका आंगिक क्याम्पसमा सबैभन्दा बढी विद्यार्थी समाजशास्त्रमा रहेको पाइएको छ । त्रिविको मानविकी डिन कार्यालयका अनुसार समाजशास्त्रमा सबैभन्दा बढी ६ सय ९८ विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । त्यसैगरी, अंग्रेजी विषय अध्ययनका लागि केन्द्रीय विभागसहित उपत्यकाका आंगिक क्याम्पसका लागि पाँच सय ३०, अर्थशास्त्रमा तीन सय ९९, ग्रामीण विकासका लागि तीन सय ४७ र होम साइन्समा दुई सय ३४ जनाले प्रवेश परीक्षा दिएका छन् । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।
त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन शिवलाल भुसालले १० भन्दा कम हुने कलेजमा विषय नरहने बताए । एक–दुई विद्यार्थीलाई छुट्टै कक्षा, शिक्षक, पूर्वाधारलगायतका सुविधा चाहिने र त्यो खर्चिलो हुने भएकाले थोरै विषय भएकालाई समायोजन गरिने बताए । सेमेस्टर प्रणालीमा विद्यार्थीले पढाइलाई धेरै प्राथमिकता दिनुपर्ने भएकाले व्यवस्थित बनाउनुपरेको उनले बताए । थोरै विद्यार्थी भएर त्यो विषय नै बन्द हुने कलेजका शिक्षक पनि आवश्यकताअनुसार विद्यार्थी भएका कलेजमा पठाइने उनको भनाइ छ । केही क्याम्पसमा कुनै विषयका विद्यार्थीभन्दा शिक्षक बढी भएको डिन भुसालले बताए ।
कुन क्याम्पसमा कुन विषयमा कति विद्यार्थीले प्रवेश परीक्षा दिए ?
नेपाली
सरस्वती क्याम्पस १ विद्यार्थी
त्रिचन्द्र क्याम्पस २ विद्यार्थी
पाटन क्याम्पस ३ विद्यार्थी
भक्तपुर क्याम्पस ६ विद्यार्थी
जनसंख्या
पाटन क्याम्पस ३ विद्यार्थी
रत्न राज्य क्याम्पस ६ विद्यार्थी
मानवशास्त्र
पद्मकन्या क्याम्पस ३ विद्यार्थी
अंग्रेजी
सरस्वती क्याम्पस ५ विद्यार्थी
केन्द्रीय विभागहरू
इतिहास ३ विद्यार्थी
हिन्दी ४ विद्यार्थी
संस्कृत ७ विद्यार्थी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago