काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित गरिएका विभिन्न संकायका परीक्षाहरु फागुन १ गतेदेखि सञ्चालन गर्ने भएको छ।

कोरोना संक्रमण बढेसँगै त्रिविले गत माघ ६ गते सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सबै परीक्षण स्थगित गर्नुका साथै भौतिक उपस्थितिमा पठनपाठन बन्द गरेको थियो। गत माघ ११ देखि त्रिविले अनलाइनबाटै कक्षा सञ्चालन गरिरहेको छ। 

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज बुधबार सूचना निकालेर परीक्षाको तालिका प्रकाशित गरेको हो। विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ चारवर्षे बीएस्सी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा पनि फागुन १ देखि हुनेछन्।

यसका साथै वार्षिक परीक्षा प्रणालीअनुसार तीनवर्षे एलएलबी तेस्रो वर्ष नियमित परीक्षा पनि फागुन १ देखि सुरु हुने भएको छ। 
विभिन्न संकायका परीक्षा तालिका र परीक्षा केन्द्रहरु कार्यालयको वेबसाइटमा हेर्न सकिन्छ।