काठमाण्डौ । व्यावसायिक घराना त्रिवेणी ग्रूपले अमृत ब्रान्ड चामलको उत्पादन सुरु गरेको छ ।

ग्रूपले वीरगन्जमा चामल उत्पादन गर्न त्रिवेणी राइस इन्डस्ट्री प्रालि सञ्चालनमा ल्याएको हो ।६ महिनाअघि नै उद्योग सञ्चालन गर्ने लक्ष्य राखिए पनि आर्थिक मन्दीलगायत कारणले ढिलाइ भएको कम्पनीका निर्देशक साकेत संघईले जानकारी दिए ।

दसैंदेखि उत्पादन सुरु भएको चामल तिहार अघिबाट बजार आउने छ ।निर्देशक संघईका अनुसार दसैंअघि नै बजारमा चामल पुरयाउने लक्ष्य भएपनि नयाँ धानको पर्खाइमा रहँदा केही ढिला भएको हो ।

उनले भने, ‘उत्पादन भएको चामलको मूल्य भने निर्धारण भएको छैन । बजार मागअनुसार चलनचल्तीकै मूल्यमा चामल बिक्री हुने छ । ’ 

‘हामीले प्रिमियम चामल उत्पादन गरिरहेका छौं’, निर्देशक संघईले भने, ‘ग्राहकसँग प्रिमियम मूल्य लिनेभन्दा गुणस्तरीय चामल खुवाएर सन्तुष्टि दिने लक्ष्य छ ।’

३० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको राइस मिलबाट अमृत ब्रान्डमा प्रिमियम जिरा मसिनो र प्रिमियम सोना मन्सुली चामल उत्पादन भइरहेको छ । प्रतिघण्टा ८ टन धान कुट्ने क्षमता राइस मिलको छ । धान कुटेका आधारमा ५० प्रतिशतमात्र चामल हुन्छ। प्रतिघण्टा ८ टन धान कुट्दा ४ टनमात्र चामल उत्पादन हुने कम्पनीले जनाएको छ ।

कम्पनीले नेपाली धानबाट चामल उत्पादन गर्ने नीति लिएको छ । पछिल्लो समय नेपालमा धान उत्पादन घट्दै गएको कारण भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।

अहिले ठूलो परिमाणमा भारतबाट धान आयात भइरहेको छ। भारतबाट धान आयात कम गर्न किसानहरूसँग सहकार्य गरेर उत्पादन बढाउने योजना रहेको उनले बताए ।

नेपाली किसानले नै उत्पादन गरेको धानबाट चामल बिक्री गर्ने उद्देश्य राखेको बताउँदै उनले सरकारले पनि धान उत्पादन गर्नेहरुलाई विशेष सहुलियत दिनुपर्ने बताए । 

अहिले सञ्चालनमा रहेका राइस मिलमा ७० प्रतिशत धान भारतबाट आउने गरेको छ।भारतले चामल निर्यातमा रोक लगाएपछि अहिले नेपाली बजारमा चामलको मूल्य बृद्धि भएको छ।

चामल निर्यात बन्द भएको मौका छोपेर कतिपय व्यापारीले मूल्य बढाइरहेका छन्। यही बेला अमृत चामल बजार आउँदा मूूल्य केही कम हुन सक्ने अनुमान छ।

उत्पादन, व्यापार, बैंक तथा वित्तीय संस्था,बीमा, जलविद्युत, रिटेल, शिक्षा, हस्पिटालिटी, कृषि र अटोमोबाइल क्षेत्रमा लगानी गरिरहेको उक्त कम्पनीको त्रिवेणी राइस पहिलो कृषिजन्य उद्योग हो। 

ग्रूपले अमृत ब्रान्डमा केही वर्षदेखि खाने तेल पनि उत्पादन गरिरहेको छ ।साथै,उसले यसअघि त्रिवेणी दाल, रिलायन्स चिनी र टोकला चिया उत्पादन गरी बिक्री गर्दै आएको  छ।