काठमाण्डौ । धादिङको गजुरी–२मा आज बिहान एउटा यात्रुबस त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

काठमाण्डौबाट म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान करिब सवा ११ बजे त्रिशूली नदीमा खसेको हो। घटनामा ६ पुरुष र २ महिलाको मृत्यु भएको छ। ‘उनीहरुको सनाखत भइसकेको छैन’, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरीउपरीक्षक गौतम मिश्रले भने। 

घाइतेहरुमध्ये गम्भीर रहेका ५ जनालाई काठमाण्डौ पठाइएको र बाँकी स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। ‘उद्धार कार्य जारी छ’, प्रहरीउपरीक्षक मिश्रले भने। 

बसमा कति यात्रु थिए र दुर्घटना कसरी भयो भन्नेबारे यकिन भइनसकेको प्रहरीले जनाएको छ।