काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयरबापतको बाँकी रकम भुक्तानी गर्ने आज (फागुन १७ गते) अन्तिम दिन रहेको छ। 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज बैंकिङ समयसम्म सेयरबापतको बाँकी रकम भुक्तानी गर्न सकिनेछ। 

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत यो कम्पनीले २०७५ चैत ७ गते आईपीओ बिक्री खुलाएको थियो। कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। 

कम्पनीले अंकित मूल्यको १० प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम रकम उठाएको थियो। कम्पनीले अग्रिम भुक्तानी गरेका सेयरधनीलाई ८ प्रतिशत ब्याज प्रदान गरी प्रतिसेयर ८७ रुपैयाँका दरले असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्ममा भुक्तानी गर्न भनेको थियो। तर तोकिएको अवधिमा बाँकी रकम नउठेपछि पुनः मंसिर १८ गतेदेखि फागुन १७ गतेसम्म भुक्तानी गर्ने समय थप गरिएको थियो। 

आजसम्म रकम बुझाउने ३ महिनाको अवधिको वार्षिक ८% का दरले लाग्ने प्रतिसेयर ब्याज दर रकम १.७४ पैसा थप गरी ८८.७४ रुपैयाँ बुझाउनुपर्ने सूचनामा उल्लेख छ। 

सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत उक्त रकम भुक्तानी गर्न सकिनेछ। 

यो थप समावधिमा पनि रकम नबुझाउने साबिकका सेयरधनीको हकमा उनीहरुले आफ्नो बाँडफाँटमा परेको सेयरको अग्रिम रुपमा भुक्तानी गरेको रकम र सो रकममा कम्पनीले प्रदान गरेको ब्याज रकमले खामेजति संख्याको सेयर कायम गरी सेयरधनीको नाममा रहेको बाँकी सेयर जफत गरिने सूचनामा प्रस्ट रुपमा उल्लेख गरिएको छ।