काठमाण्डौ । कोरोना संक्रमणका कारण बुधबार पर्सामा २ व्यक्तिको मृत्यु भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय र गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । 

दुवै मृतक दीर्घ रोगी समेत रहेका बताइएको छ । नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका ७० वर्षीयको बुधबार बिहान मृत्यु भएको थियो । उनी मृगौला रोगी समेत हुन् । वीरगञ्ज स्थायी घर भएका उनलाई पखाला नरोकिएपछि अस्पताल भर्ना गरिएको थियो । 

यसैगरी, गण्डक अस्पतालमा उपचार गराइरहेका ६५ वर्षीय पुरुषको समेत बुधबार नै मृत्यु भएको हो । उनमा मुटुको समस्या रहेको थियो । उनलाई साउन ८ गते अस्पताल भर्ना गरिएको थियो । 

यी दुईसहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।