काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार पीसीआर विधिबाट ९ हजार ५९८ जनाको परीक्षण गर्दा २ हजार ७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्म पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा र एन्टिजेन विधिबाट १८ हजार ७५५ जनामा गरी कुल ६ लाख २३ हजार १५१ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा थप १ हजार १४० जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौका ९२१ जना, ललितपुरका १६३ जना र भक्तपुरका ५६ जना छन्।

यो अवधिमा थप ५ हजार २२५ जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुने दर ८६.२ प्रतिशत पुगेको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या घट्दै ७५ हजार २७५ मा झरेको छ। 

यो अवधिमा थप ६७ जनाको मृत्यु भएको छ। योसँग कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ।