काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार १२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४९ जनामा र ४ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा ८९५ मा गरी कुल ४ हजार ३४४ जनामा कोरोना पुष्टि भएको हो।

यो अवधि काठमाण्डौ उपत्यकामा थप ९१५ जनामा कोरोना पुष्टि भएको छ। जसअनुसार काठमाण्डौमा ६७९ जनामा, ललितपुरमा १५१ जनामा र भक्तपुरमा ८५ जनामा पुष्टि भएको हो। 

पछिल्लो २४ घन्टामा थप ५ हजार ७६८ जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५ लाख १० हजार २९८ पुगेको छ। यो भनेको कुल संक्रमितको ८५.२ प्रतिशत हो। 

पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढी देखिएको छ। 

देशभर हालसम्म ६ लाख १५ हजार ६५२ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये अब देशभर ८० हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन्।

हाल देशका ४६ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घन्टामा थप ८१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ८ हजार १७९ पुगेको छ।