काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा देशभर नयाँ संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढी देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर थप ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जब कि निको भएर डिस्चार्ज हुनेको संख्या ६ हजार ९५१ रहेको छ।

मन्त्रालयका अनुसार १२ हजार २ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३७० जनामा र ५ हजार ९०१ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो अवधिमा उपत्यकामा थप १ हजार ११५ जनामा कोरोना पुष्टि भएको छ।  जसमा काठमाण्डौमा ७९० जना, ललितपुरमा १९० जना र भक्तपुरमा १३५ जना छन्। 

हालसम्म कुल संक्रमणको संख्या ६ लाख ६ हजार १५५ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ९७ हजार ९६० रहेको छ। हाल देशभर १४.४६ प्रतिशत सक्रिय संक्रमित छन्। 

पछिल्लो २४ घन्टामा थप ९२ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ९९० पुगेको छ। 

मन्त्रालयका अनुसार हालसम्म २१ लाख १३ हजार ८० जनाले कोरोनाविरुद्ध खोपको पहिलो डोज लगाइसकेका छन् भने ६ लाख ९१ हजार ४९४ जनाले दुवै डोज लगाइसकेका छन्।