काठमाण्डौ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पछिल्लो २४ घण्टामा ६ जना थपिएर १२६ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ६ संक्रमितको मृत्यु भएको हो । 

मृतकमध्ये २ महिला र ४ पुरुष रहेका छन् । 

काठमाण्डौकी एक महिला, मकवानपुरका १ पुरुष, सप्तरीका १ पुरुष, पर्साकी एक महिला र २ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । 

पछिल्लो समय आइसीयूमा बस्नुपर्ने संक्रमितको संख्या पनि बढिरहेको छ । जसअनुसार देशभर हाल १२९ संक्रमितको आइसियूमा उपचार भइरहेको छ । आइसियूमा राखेर उपचारत संक्रमितको संख्या बागमति प्रदेशमा सबैभन्दा बढी ५४ रहेको छ । प्रदेश २ मा ४६, प्रदेश ५ मा १२, प्रदेश १ मा ११ र गण्डकी प्रदेशमा ६ जना संक्रमितलाई समेत आइसियूमा राखिएको मन्त्रालयले जनाएको छ । 

यस्तै, ७ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । ती सबै बागमति प्रदेशका हुन् । 

हाल देशमा कोभिड १९ संक्रमितका लागि उपलब्ध आइसियू बेड संख्या ९४६ र भेन्टिलेटर संख्या ४९६ रहेको छ ।