काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर नयाँ संक्रमित थपिनेभन्दा निको हुने संख्या बढी देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ८ हजार ६६३ जना निको भएर डिस्चार्ज भएका छन्। जब कि यही अवधिमा ६ हजार ६५३ जना नयाँ संक्रमित थपिएका छन्। यो हिसाबले आज नयाँ थपिने संक्रमितभन्दा निको हुनेको संख्या २ हजार १० ले बढी रहेको छ। 

यो अवधिमा १२ हजार १८२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ६२४ जना र ६ हजार ६३१ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा १ हजार ३८४ जना संक्रमित थपिएका छन्। जसमा काठमाण्डौका ८९७ जना, ललितपुरका २९९ जना र भक्तपुरका १८८ जना छन्।

हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ भने निको हुनेको संख्या ४ लाख ७६ हजार १३० रहेको छ। 

देशभर अब सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ मा झरेको छ। यो कुल संक्रमित संख्याको १६.८० प्रतिशत हो। 

पछिल्लो २४ घन्टामा देशभर थप १०१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ७ हजार ७३१ पुगेको छ।