धरान । राजधानीको दरबारमार्गमा आपूर्तिमन्त्रीको नेतृत्वमा बजार अनुगमन भएपछि त्यसलाई रोक्न व्यवसायीहरुले साम दाम दण्ड भेद प्रयोग गरिरहँदा पूर्वको पुरानो शहर धरानका व्यवसायीले भने कालोबजारी मौलाएको भन्दै बजारको नियमित अनुुगमन थाल्न आग्रह गरेका छन्। 

आइतबार धरान उपमहानगरपालिकाले बजार अनुुगमन उपसमिति निर्माण लगायतका बिषयमा आह्वान गरेको छलफलमा सहभागी उद्योग वाणिज्य संघका स्थानीय नेताहरुले तत्काल बजार अनुुगमन थाल्न आग्रह गरेका हुन् ।  

सुनसरी उद्योग बाणिज्य सघंका उद्योग सचिब महेन्द्र प्रधानले नियमित बजार अनुगमनको अभाबमा बजार अस्तब्यस्त भएको बताए । उनले बजारमा खाद्यान्न मात्र नभएर यातायात क्षेत्रमा समेत फट्याई भएको भन्दै त्यहाँ पनि निरन्तर प्रभावकारी अनुुगमनको खाँचो औंल्याए ।

होटल एसोसिएशन अफ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठले बजार अनुगमन मौसमी रुपमा हुने भएको भन्दै अब नियमित रुपमा बजार अनुगमनको माग गरे । बजार अनुगमन गर्दा खाद्यान्न र मिसावट मात्र हैन, लत्ताकपडाको मूूल्य भइरहेको लुटमा समेत ध्यान दिनुपर्ने बताए ।

आइतबारको सो छलफलपछि धरान उपमहानगरपालिकाले बजार अनुुगमनलाई सुरु गर्ने र यसलाई निरन्तर  राख्ने निर्णय गर्दै उपमेयर मञ्जु भण्डारी सुबेदीको संयोजकत्वमा ११ सदस्यीय समिति पनि बनाएको छ । सो समितिमा आमन्त्रित सदस्यको रुपमा बिज्ञहरुलाई ल्याइनेछ । 

बजार अनुगमनका लागि गठित सो समितिमा सुनसरी उद्योग बाणिज्य संघ, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार महासघं, खाद्य प्रबिधिका बिज्ञ लगायत सदस्य रहने र धरान उपमहानगरपालिकाले तोकेका अधिकृत सदस्य सचिब रहने बताइएको छ ।

बजार अनुगमनको कार्यलाई स्थायीत्व दिन आबश्यक कानुन समेत बनाउनु पर्ने भएकोले त्यसको प्रक्रिया समेत सुरु गरिने धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले जानकारी दिए ।