काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा भारी अंकको गिरावट आएको छ।

बजार आज ७०.०१ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक २६१५.४० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.४२ अंकले घटेर ४९४.९१ को विन्दुमा ओर्लेको छ। बजारमा पौने ६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार प्रेम ओली विभिन्न कारण बजारमा निरन्तर करेक्सन आइरहेको बताउँछन्। अल्पकालीन लगानीकर्ताले प्रफिट बुक गर्नु, चाडपर्वका लागि खर्च जोहो गर्नु, थोरै समयमा बजार भारी अंकले बढ्नु, नियामक निकायबाट बेला–बेलामा बजारमाथि प्रहार हुनु अदि कारणले बजारमा करेक्सन आएको उनको भनाइ छ। ‘छोटो समयमै बजारले उछाल मारेका कारण पनि ठूलो करेक्सन आएको मान्न सकिन्छ’, उनले भने।

बजार लयमा फर्किन केही समय लाग्ने ओलीको भनाइ छ। बजार लयमा फर्किन ब्याजको अवस्था, राष्ट्र बैंकको अबको नीति, सरकारले गर्ने खर्चले निर्धारण गर्ने उनी बताउँछन्। ‘यी सबै कुरा लगानीकर्ताहरुले पर्खिरहेका छन्, त्यसैले अहिले ठूला र संस्थागत लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्’, उनले भने।

पुँजी बजार दबाब समूहका महासचिव नयन बास्तोला बजारमा करेक्सन नै जारी रहेको बताउँछन्। ‘करेक्सन स्वाभाविक हो, तर यसरी दैनिक भारी अंकले बजार घट्नुमा केही खेल खेलिएकोजस्तो पनि देखिन्छ’, उनले भने। 

नियामक निकायलाई चुनौती दिन पनि बजारमा केही खेलाडीले चलखेल गरेको हुन सक्ने आशंका पनि बास्तोलाले गरे। ‘४० लाख लगानीकर्ता भएको सेयर बजारका विषयमा सरकार र नियामक निकाय चनाखो हुनुपर्यो, चुपचाप बस्नु भएन’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक ७.३७ प्रतिशतको गिरावट आएको छ। जलविद्युत समूह ४.७४ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.८९ प्रतिशत, व्यापार समूहमा २.६३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७८ प्रतिशत, विकास बैंक समूहमा ३.१५ प्रतिशत, निर्जीवन बीमा समूहमा २.७८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.४ प्रतिशत, अन्य समूहमा १.८४ प्रतिशत, लघुवित्त समूहमा २.२३ प्रतिशत, जीवन बीमा समूहमा २.९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.१६ प्रतिशत र लगानी समूहमा ३.९३ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका १ करोड ३० लाख ३४ हजार ८२६ कित्ता सेयर ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन कुमारी बैंकको सर्वाधिक १८ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १७ करोड ३८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेसनल हाइड्रोपावरको १५ करोड ४८ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको १५ करोड ३७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १४ करोड ५४ लाख रुपैयाँ, नेपाल बैंकको १४ करोड ४५ लाख रुपैयाँ, अपी पावरको १४ करोड १ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १३ करोड ४९ लाख रुपैयाँ, अरुण काबेली पावरको १२ करोड ४८ लाख रुपैयाँ र नबिल बैंकको १२ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउनेहरु

आज मनकामना स्मार्ट लघुवित्त र मैलुङखोला जलविद्युतका सेयरधनीहरु मालामाल भएका छन्। यी दुवै कम्पनीका सेयरमूल्यमा क्रमशः १० प्रतिशत तथा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

यो दिन ५ वटा कम्पनीका सेयरभाउमा नेगेटिभ सर्किट लागेको छ। हिमालयन पावर पार्टनर र नेपाल हाइड्रोको सेयरमूल्यमा १० प्रतिशत तथा गोर्खाज फाइनान्स, जोशी हाइड्रोपावर र श्री इन्भेस्टमेन्ट फाइनान्सको १० प्रतिशतको हाराहारीमा घटेर नेगेटिभ सर्किट लागेको हो। आज शिवश्री हाइड्रोपावर र समृद्धि फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले ओरालो लागेको छ।