काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ।
बजार आज ३७.२७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३४.११ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.२९ अंकले घटेर ३७३.८५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार वीरेन्द्र बिष्ट केही नीतिगत व्यवस्थाले बजारमा दबाब परेको बताउँछन्। ‘४–१२ को नीतिले मार्जिनको प्रेसर परेको छ’, उनले भने।
नीतिगत व्यवस्थामा परिमार्जन गर्न आवश्यक रहेको बिष्ट बताउँछन्। ‘केही न केही सम्बोधन हुने सम्भावना पनि छ’, उनले भने, ‘अहिले बजारमा धैर्यता आवश्यक छ। जसरी बजार घटेको त्यसरी नै फेरि बढ्छ।’
सक्रिय लगानीकर्ता निमानन्द कँडेले पनि अहिले बजारमा सेलिङ प्रेसर परेको बताउँछन्। ‘केही सम्बोधन हुने आशा थियो, त्यो भएन’, उनले भने, ‘तर, बजारको सुधारका लागि केही नीतिगत व्यवस्थामा सम्बोधन हुन आवश्यक छ। नत्र बजारमा दुर्घटना हुन सक्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन जलविद्युत समूह सर्वाधिक ३.८५ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ३.६६ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.९२ प्रतिशत, व्यापार समूहमा १.९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.८४ प्रतिशत, वित्त समूहमा ३.५९ प्रतिशत, निर्जीवन बीमा समूहमा १.९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६८ प्रतिशत, अन्य समूहमा ३.६२ प्रतिशत, लघुवित्त समूहमा १.५४ प्रतिशत, जीवन बीमा समूहमा १.३२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ३.१ प्रतिशत र लगानी समूहमा २.२७ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल टेलिकमको सर्वाधिक १० करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनसीसी बैंकको ५ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको आज सेन्चुरी कमर्सियल बैंकको ४ करोड ८२ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड २४ लाख रुपैयाँ, लक्ष्मी बैंकको ३ करोड २१ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ६८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ५९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ५४ लाख रुपैयाँ र अप्पर तामाकोशीको २ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज आँधिखोला लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन रिभर फल्स पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago