काठमाण्डौ । दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरुले कोरोनाभाइरस (सार्स–कोभ भी–२) को नयाँ भेरियन्ट पत्ता लगाएको दाबी गरेका छन्। 

दक्षिण अफ्रिकी अनुसन्धानकर्ताहरुले दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘सी.१.२’ पत्ता लागेको दाबी गरेका हुन्। उनीहरुले यो भेरियन्ट तीव्र रुपमा फैलिने र यसविरुद्ध हालसम्म विकसित खोपहरुले पनि प्रभाव नपार्ने जनाएका छन्। 

दक्षिण अफ्रिकाको नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज(एनआईसीडी)का वैज्ञानिकहरु र इनोभेसन एन्ड सिक्वेन्सिङ प्लेटफर्मले नयाँ पत्ता लगाइएको सी.१.२ भेरियन्ट सबैभन्दा पहिला गत मे महिनामा दक्षिण अफ्रिकामा देखिएको जनाएका छन्। त्यसपछि यो भेरियन्ट कंगो, मौरिसस, चीन, बेलायत, न्युजिल्यान्ड, पोर्चुगल र स्विजट्रल्यान्डमा समेत देखिएको अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्। यो भेरियन्टले अन्यको तुलनामा बढी उत्परिवर्तन गर्ने उनीहरुको भनाइ छ। 

अफ्रिकी मुलुकहरुमा यो नयाँ भेरियन्टको भाइरसको जिनोम संख्या प्रत्येक महिना वृद्धि भइरहेको र यो दर मे महिनामा ०.२ प्रतिशतबाट जुनमा १.६ प्रतिशत र जुलाईमा २ प्रतिशत पुगेको रिपार्टमा उल्लेख छ। अनुसन्धानकर्ताहरुले यो वृद्धिलाई सुरुआती चरणमा दक्षिण अफ्रिकामा बेटा र डेल्टा भेरियन्ट देखिदाको वृद्धिजस्तै भएको बताएका छन्। 

केही निश्चित एन्टीबडीबाट इम्युन स्केप गर्न सम्बन्धित एन४४०के र वाई४४९एच नयाँ भेरियन्ट सी.१.२ सिक्वेनसिङमा देखिएको रिपार्टमा उल्लेख छ। – एजेन्सी