 
                     
                                
                             
                                    काठमाण्डौ ।विश्व व्यापार संगठन (डब्ल्यूटीओ) चेयर्स प्रोग्राम नेपाल र काठमाण्डौ विश्वविद्यालयको आयोजनामा आइतबारबाट दुई दिने ‘डब्ल्यूसिपी नेपाल–एआईबी साउथ एशिया सम्मेलन, २०२४’ सुरू भएको छ।
विश्वव्यापारमा दक्षिण एशियाको प्रतिस्पर्धीपन, आपूर्ति श्रृंखला र वातावरणीय तथा सामाजिक पक्ष (ग्लोबल ट्रेड एण्ड साउथ एशियाः कम्पिटेटिभनेस, भ्यालु चेन एण्ड ईएसजी) विषयमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना भएको हो।
काठमाण्डौ विश्वविद्यालयका रजिष्ट्रार प्रोफेसर अच्युत वाग्लेले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेको सन्दर्भमा नेपालले फरक खालेको वाणिज्य नीति अवल्बन गर्नुपर्ने आवश्यकता औंंल्याए।
नेपालले विश्व बजारमा प्रतिस्पर्धाका लागि अग्र र पृष्ठपोषण सहितको वस्तु उत्पादनमा जोड दिनुपर्ने वाग्लेको भनाइ छ।
एआईवी–एसएसी एक्जुकेटिभ बोर्डका अध्यक्ष प्रोफेसर एस रघुनाथले दक्षिण एशियाली मुलुकको वैदेशिक व्यापारसँग सम्बन्धित नीति निर्माणमा यस सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
सहज आपूर्ति श्रृंखला निर्माण गर्न विश्वव्यापी रूपमा एकअर्का देशहरूबीच अन्तरनिर्भरता रहेको भन्दै उनले सबैको समान सहभागिता र योगदान आवश्यक रहने उल्लेख गरे।
स्थानीयस्तरको उत्पादन प्रवर्द्धनमा नवप्रवर्तन तथा वौद्धिक अधिकारको अधिकतम प्रयोगमा उनले जोड दिए।
यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले वैदेशिक व्यापारलाई सन्तुलित रूपमा अगाडि बढाउन देखिएको नीतिगत खाडललाई पुर्नका लागि अनुसन्धानकर्ता तथा अध्येताहरूबाट आउने सुझावलाई सरकारले सकारात्मक रुपमा लिने बताए।
प्रभावकारी नीति निर्माणका लागि विभिन्न क्षेत्रको विज्ञता आवश्यक पर्ने उनको भनाइ छ।
संयुक्त राष्ट्रसंघको जेनेभास्थित स्थायी नियोगका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले वैदेशिक व्यापार विकास र समृद्धिको इन्जिन रहेको उल्लेख गर्दै उनले दक्षिण एशिया विश्व बजारको ठूलो हिस्सा रहेको बताए।
नेपाललगायत देशहरूले बेहोरिरहेको उच्च व्यापार घाटाको समस्या समाधानको लागि उत्पादन र बजारको विविधिकरण गरिनु पर्नेमा उनको जोड छ।
डब्लूटीओका डेपुटी डाइरेक्टर जेनेरल सियाङचेन झाङले विश्व व्यापारमा सहजिकरणका लागि विभिन्न क्षेत्र र तहसँग क्षमता विकासका लागि काम भइरहेको बताए।
पछिल्लो समय विश्वव्यापारको परिदृश्यमा बदलाव भइरहेको सन्दर्भलाई जोड्दै उनले अतिकम विकसित मुलुकको व्यापारसँग सम्बन्धित सुविधाको निरन्तरताका लागि पहल गरिने समेत प्रतिवद्धता जनाए। 
काठमाण्डौ विश्वविद्यालका उपकुलपति प्रोफेसर डा भोला थापाले क्षेत्रीयस्तर र विश्व बजारमा समेत व्यापारका आयामहरू परिवर्तन भइरहेको र त्यसले नेपाल जस्ता आयातमा निर्भर र सानो अर्थतन्त्र भएका मुलुक बढी प्रभावित भइरहेको उल्लेख गरे। 
न्यून उत्पादनका कारण नेपालको निर्यात पक्ष निकै कमजोर रहेको तथा नेपालले डब्लूटीओका सुविधाको पर्याप्त लाभ लिन नसकेको उनको भनाइ छ ।
भारतीय विदेश व्यापार संस्थान, कोलकत्ता क्याम्पसका प्रमुख प्रोफेसर के रङ्गराजनले दक्षिण एशिया क्षेत्रमा उच्च जनसांख्यकीय लाभ रहे पनि व्यापारका क्षेत्रमा उचित लाभ लिन नसकेको बताए।
सम्मेलनमा विभिन्न ७ देशबाट ६० भन्दा धेरै विज्ञ, अनुसन्धानदाता, प्राज्ञिक व्यक्तित्वहरुको सहभागिता छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19