काठमाण्डौ । भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ३४) को आयोजनामा शनिबारका तनहुँको दमौलीमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। 

उद्योग वाणिज्य संघको हल भएको कार्यक्रममा व्यास नगरपालिकाका वडा प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु, तनहुँ टेलिभिजनका अध्यक्ष शंकर राज नहर्की, तनहुँ उवासंघ दमौली बजार इकाइका महासचिव माधव न्यौपाने, भेञ्चर क्यापिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा प्रशिक्षक भीमप्रसाद पन्त, विशेष अतिथि व्यास नपाकी उपप्रमुख इन्दिरा गैरेलगायतको उपस्थिति थियो। 

तनहुँ उवासंघा अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाको सभापतित्वमा कार्यक्रम भएको थियो। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको भिजन सेक्युरिटिजले जनाएको छ। 

कार्यक्रममा दोस्रो बजारमा कारोबार गर्नका लागि आवश्यक प्रक्रिया, लगानीकर्ताले ध्यान दिनुपर्ने विषय, अनलाइन कारोबारसम्बन्धी व्यवस्थालगायतका विषयमा कार्यकारी अध्यक्ष तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए। कम्पनीको आधारभूत वित्तीय विवरणको विश्लेषण तथा आधारभूत प्राविधिक विश्लेषण सम्वन्धमा भेञ्चर क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पन्तले कार्यपत्र प्रस्तुत गरेका थिए। 

आर्थिक मन्दीको असरले सेयर वजारलाई पनि प्रभावित बनाएकोले हालको अवस्थामा सुझबुझका साथ लगानी गर्न उपमेयर गैरेले सुझाव दिइन्। 

कम्पनीको अवस्था, वित्तीय विवरण, कम्पनीका सञ्चालकलगायतका बारे राम्रोसँग जानकारी लिएर सेयर वजारमा लगानी गर्नुपर्ने सुझाव उवासंघ तनहुँका अध्यक्ष श्रेष्ठले दिए। 

कार्यक्रममा सामाजिक संघसंस्थका प्रतिनिधि तथा लगानीकर्ता गरी लगभग २०० जनाको उपस्थिति थियो।