काठमाण्डौ । थप वातावरणमैत्री सञ्चालनतर्फ अघि बढ्ने उद्देश्यका साथ नेपालको अग्रणी अनलाइन बजार दराजले अब डेलिभरीका लागि विद्युतीय स्कुटरको प्रयोग गर्ने घोषणा गरेको छ। 

कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक स्कुटर खरिद गरेको जनाएको छ। जसलाई काठमाण्डौ उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिनेछ। 

विशेषगरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेललगायतका केही क्षेत्रका ग्राहकलाई सामान पुर्याउन विद्युतीय स्कुटरको प्रयोग गरिने कम्पनीले जनाएको छ। 

यस नयाँ पहलमार्फत दराजले आयातीत इन्धनको खपतलाई स्वदेशमै उत्पादन हुने ‘क्लिन एन्ड ग्रिन’ बिजुलीले प्रतिस्थापन गर्ने र वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्ने अपेक्षा गरेको छ। यसका साथै कम्पनीले दुई र चार पांग्रे दुवै खण्डमा आफ्नो फ्लिटमा विद्युतीय सवारीसाधनको संख्यालाई थप विस्तार गर्ने योजना रहेको पनि जनाएको छ। 

दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन्, ‘यो दराजमा दिगो तथा वातावरणमैत्री सञ्चालन तिरको थप एक कदम हो। हाम्रा डेलिभरी सवारीसाधनमा १० वटा विद्युतीय स्कुटर थपिएका छन्।’

दराज सधैँ वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्ने कोसिसमा रहने पनि कँुवरले बताइन्। ‘हामी हाम्रो प्याकेजिङको लगभग ८० प्रतिशतका लागि पुनः प्रयोग गरिएको कागज प्रयोग गर्दछौँ र पूर्ण रुपमा कागजविहीन जाने प्रयास गर्दैछौँ’, उनले भनिन्, ‘हामीले हाम्रो थसिखेल हबमा रेन वाटर हार्वेस्टिङ प्रणाली पनि लागू गरिरहेका छौँ। हामीले नागार्जुनको सामुदायिक वनमा ४०० बढी रुख पनि रोपेका छौँ। हामी हरियाली नेपाल निर्माण गर्न मद्दत गर्ने उपायहरु कार्यान्वयन गर्न सधैँ अग्रसर रहनेछौँ।’

सेप्टेम्बर २३ मा दराजको थसिखेल हबमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक कुँवरले कम्पनीका गोपीकृष्ण, सोल्टीमोड र थसिखेल हबका डेलिभरी हिरोहरुलाई विद्युतीय बाइकको साँचो हस्तान्तरण गरेकी थिइन्।